Kath khabar
नयाँ बर्ष  देखि पाटन दरबार परिसर भित्र अनुमति बिना कुनै कार्यक्रम गर्न नपाइने

 

                        ललितपुर, पुस १५ ।  ललितपुर महानगरपालिकाले विश्वसम्पदामा सूचीकृत पाटन दरबार स्क्वायर क्षेत्रभित्र अनुमति बिना कुनै पनि कार्यक्रम गर्न निषेध गरेको छ।

ऐतिहासिक, सांस्कृतिक सम्पदा संरक्षण गर्नका लागि भन्दै महानगरपालिकाले आगामी आइतबारबाट दरबार स्क्वायर क्षेत्रभित्र सवारी प्रवेश देखि विभिन्न कार्यक्रममा प्रतिबन्ध लगाएको ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले बताए।मेयर महर्जनका अनुसार ऐतिहासिक दरबार क्षेत्रभित्र जथाभावी सवारी प्रवेश, मन्दिर तथा मूर्तिलाई क्षति पुग्ने गरी गरिने विभिन्न क्रियाकलापलाई रोक्न नियम बनाइएको जानकारी दिए।

प्राचीन सम्पदाको रूपमा रहेका सम्पतीहरूको संरक्षण गरी भावी पुस्तालाई सकुशल हस्तान्तरण गर्ने उद्देश्यले यस्तो संरक्षणात्मक तथा सम्वर्द्धनात्मक व्यवस्था गरिएको मेयर महर्जनले बताए। ‘सभ्यता, संस्कृति, सम्पदा र इतिहास नै हाम्रो परिचय भएकाले राष्ट्रिय गौरवको सम्पतीलाई हामीले संरक्षण गर्न यो अभियान सुरू गरेका हौ’, मेयर महर्जनले भने।

जबसम्म नागरिकमा सम्पदाको महत्त्व प्रकट हुँदैन, तबसम्म कुनै एक निकाय वा संस्थाको जोडबलमा मात्र केही नहुने भन्दै उनले आम सर्वसाधारणलाई यसको महत्व बुझेर नियम पालना गर्न अनुरोध गरेका छन्। 

आन्तरिक एवं बाह्य पर्यटकको भीड लाग्ने पाटन दरबार क्षेत्रमा अमूर्त सांस्कृतिक सम्पदा पनि आकर्षणको केन्द्र बन्ने गरेको छ। तर पछिल्लो समय दरबार परिसर भित्र उच्छृङ्खल तरिकाले टिकटक भिडिओ बनाउने, अनुमति बिना फिल्म सुटिङ, विवाहको फोटो सुटिङ गर्ने, भिक माग्ने, धार्मिक महत्वका आकृति तथा चिन्हहरूमा, धार्मिक आस्थामा आँच आउने गरि टेक्ने, चढ्ने जस्ता कामहरु गर्ने गरिएकाले त्यसलाई रोक्न महानगरपालिले यस्तो नियम बनाएको महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए।

‘महानगरकोले दिएको जिम्मेवारी अनुसार हामी अहिले यसको प्रचार प्रसार गरिरहेका छौ, आइतबारदेखि कडाईका साथ पालना गराउँछौ’, उनले भने।

विश्व सम्पदा क्षेत्रमा सूचिकृत पाटन दरबार परिसरमा आइतबारदेखि निम्न कुराहरू गर्न निषेध गरेको छ :

  • धुम्रपान तथा मद्यपान गर्न ।
  • मोटरसाईकल तथा चार पाङग्रे सवारी प्रवेश गर्न ।
  • सम्बन्धित निकायको अनुमती बिना कुनै पनि कार्यक्रम गर्न र गराउन ।
  • म्यूजिक भिडियो तथा फोटो सुटिङ्ग गर्न ।
  • साईकल स्टण्ड गर्न ।
  • कुनै पनि तरिकाबाट भिक माग्न ।
  • उच्छृङ्खल तरिकाले टिकटक, भिडियो बनाउन ।
  • धार्मिक महत्वका आकृति, वस्तु तथा चिन्हहरूमा, धार्मिक आस्थामा आँच आउने गरि टेक्ने, चढ्ने जस्ता कामहरु गर्न।
  • चिया बेच्न, मकै बेच्न, तौल मेसिन राख्ने लगायतका अन्य फुटपाथ पसल राख्न ।
  • तोकिएको समयपछि रातको समयमा दरबार परिसरमा बस्न र घुम्न। 

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update