Kath khabar
सन्दीप लामिछाने प्रकरण: उच्च अदालतको आदेश त्रुटीपूर्ण रहेको भन्दै सर्वोच्च जाने उच्च सरकारी वकिलको तयारी

 

                                   काठमाडौ, माघ ४ ।  उच्च सरकारी वकिलको कार्यालय पाटनले बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामुक्त गर्ने आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालत जाने तयारी गरेको छ।

उच्च अदालत पाटनले गएको बिहीबार लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको थियो। उक्त आदेशले थुनामा राख्नैपर्ने पर्याप्त आधार नभएको भन्दै २० लाख धरौटीमा छोडिदिएको थियो। 

उक्त आदेश कानुन र सर्वोच्चले गरेका व्याख्यासँग बाझिएको भन्दै सर्वोच्च जाने तयारी गरेको पाटन उच्च सरकारी वकिल स्रोतले जानकारी दियो। ‘सन्दीप लामिछानेलाई छोड्ने उच्च अदालतको आदेश त्रुटीपूर्ण रहेको भन्दै सर्वोच्चमा निवेदन हाल्ने भन्ने लगभग टुंगो लागेको छ। हामी तयारी गरिरहेका छौं,’ स्रोतले भन्यो। 

उनका अनुसार सर्वोच्च अदालतमा पठाउने निवेदन लेख्ने काम भइरहेको छ।  बिहीबारको आदेश औपचारिक रूपमा मंगलबार मात्र उच्च सरकारी वकिलको कार्यालय पाटनमा पुगेको थियो। 

नाबालिगमाथि बलात्कारको अभियोग लागेका लामिछानेले आफू थुना बाहिर बसेर मुद्दा लड्न पाऊँ भन्दै दिएको निवेदनमा उच्च अदालतका पाटनका न्यायाधीश धुवराज नन्द र रमेश ढकालको इजलासले गएको बिहीबार उनलाई धरौटीमा छोड्ने आदेश गरेको थियो। 

विदेश जान नपाउने, उपत्यका बाहिर जाँदा पनि काठमाडौं जिल्ला प्रशासनबाट अनुमति लिनुपर्ने, उनको मोबाइल र फोन प्रहरीबाट निगरानीमा हुने र पीडितसँग कुनै प्रकारको सम्पर्क नराख्ने शर्त पनि आदेशमा उल्लेख थिए। 

उक्त आदेशमा थुन्नैपर्ने अवस्था नदेखेकाले लामिछानेलाई २० लाख धरौटीमा छोडिएको उल्लेख छ। त्यसैले थुनाको विकल्पमा उदार भएको पनि आदेशमा जनाइएको छ। 

"फौजदारी न्याय शास्त्रको मान्यताअनुसार अभियुक्तलाई थुनामा नराखी मुद्दाको पुर्पक्ष गर्न दिनु उपयुक्त हुने अवस्था देखिएकोमा विकल्प प्रयोग गर्नमा अदालत उदार हुनुपर्ने हुन्छ," आदेशमा भनिएको छ।

तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा तत्काल प्राप्त प्रमाणले कसुर भएको देखियो भने अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने कानुन छ। सामान्यतया गम्भीर प्रकृतिका अपराधमा पनि थुनामा राखेरै मुद्दाको पुर्पक्ष गर्ने गर्छ। 

सन्दीपको आदेशमा भने प्राप्त प्रमाणभन्दा थुनामा राख्नैपर्ने अनिवार्य अवस्था देखिनुपर्ने उल्लेख छ। धरौटीमा छोड्न १९ पेजको आदेश लेखेको उच्च अदालतले थुनामा राख्नैपर्ने कम्तीमा १६ आधारहरूको व्याख्या समेत गरेको छ।

तत्काल प्राप्त प्रमाण (प्रहरीको अनुसन्धानबाट संकलित प्रमाण) हेर्दा कसुर गरेको देखिएकै अवस्थामा पनि आफूले व्याख्या गरेका ती आधार नदेखिए थुन्न नपर्ने इजलासको भनाइ छ।

"तत्काल प्राप्त प्रमाणबाट प्रतिवादीले आरोपित कसुर गरेको देखिएको अवस्थामा पनि थुनामा राख्नैपर्ने अनिवार्य अवस्था देखिनु पर्नेमा माथि नै विश्लेषण गरिएको छ," आदेशमा भनिएको छ। 

लामिछानेको हकमा उनलाई थुनामा राख्नैपर्ने अनिवार्य अवस्था वादी पक्ष (सरकारी वकिल) ले देखाउन नसकेको र आफूले पनि नदेखेको आदेशमा उल्लेख गरेको हो।

"प्रस्तुत घटना र घटनापश्चातको शृंखलाजन्य परिस्थिति समेतलाई विचार गर्दा यो प्रतिवादीलाई मुद्दाको पुर्पक्षका लागि थुनामा राखिरहनु उपयुक्त नभएकाले जिल्ला अदालबाट भएको आदेश बदर गरिदिएको छ," आदेशमा भनिएको छ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता तथा सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले सन्दीपलाई धरौटीमा छोड्ने यो आदेश भिन्न किसिमको भएको टिप्पणी गरेका थिए।

"कानुन मात्र होइन। सर्वोच्च अदालतले पनि पटकपटक यही तीन वर्षभन्दा बढी सजाय हुने कसुरमा थुन्ने आदेश गर्ने गरेको छ। सन्दीप लामिछानेलाई छोड्ने उच्च अदालतको आदेश त्यो कानुन र सर्वोच्चको व्याख्याभन्दा पनि जमानतको सैद्धान्तिक आधार देखाएको छ। अलिक भिन्न छ," उनले भने।

"तीन वर्षभन्दा बढीका कसुरमा तत्काल प्राप्त प्रमाणले कसुर स्थापित गर्छ भने थुनामा पठाउने कानुनसँग यो आदेशले मिलेको छैन भन्ने देखियो भने सरकारी वकिल सर्वोच्च जान सक्छ," उनले भने।

काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। उक्त आदेश बदर गर्न माग गर्दै सन्दीपले उच्च अदालतमा निवेदन दिएका थिए। अदालतले थुन्नैपर्ने आधार जाहेरवाला पक्षले पेस गर्न नसकेको भन्दै उनलाई छाडेको हो। जाहेरवालाका वकिल भनेको सरकारी वकिलका साथै पीडितका निजी वकिल पनि हुन्।

थुना बाहिर राख्दा अभियुक्तले प्रमाण मेटाउन वा तिनलाई प्रभावित गर्न सक्ने प्रचुर सम्भावना भएमा, थुनामा नराखे फरार हुन सक्ने सम्भावना देखिएमा, अर्को अपराध गर्न सक्ने देखिएमा, पीडित वा सरकारी साक्षीलाई वकपत्र गर्नबाट रोक्न डरधम्की र प्रलोभनमा पार्न सक्ने अवस्था भए, अभियुक्तलाई छोड्दा पीडितले आत्महत्या गर्न सक्ने, सार्वजनिक शान्ति, कानुन र व्यवस्थामा खलल पुग्ने लगायतका अवस्थामा मात्र पुर्पक्षका लागि थुनामा राख्न आवश्यक हुने अदालतको आदेशमा उल्लेख छ।

यी कुनै पनि आधार सरकारी र पीडित पक्षका वकिलले प्रस्तुत नगरेको अदालतले जनाएको हो, "सन्दीप लामिछानेको हकमा विचार गर्दा माथि उल्लेख गरिएमा सोह्र अवस्थाहरूमध्ये कुनै वा सबै अवस्था निज प्रतिवादीको सन्दर्भमा आकर्षित हुने स्थिति रहेकोरभएको वा प्रतिवादीलाई मुद्दाको पुर्पक्षका लागि नै थुनामा नराखी नहुने निर्विकल्प अवस्था देखिएको भनी वादी तथा जाहेरीकर्ता पक्षबाट यस इजलासलाई विश्वस्त र सन्तुष्ट पार्ने गरी प्रस्तुति हुन सकेन।"

यसबाहेक सन्दीप तनावको स्थितिमा रहेको, पीडितको बकपत्र भइसकेकाले उनलाई छोड्दा त्यसमा असर नपर्नेमा आफू विश्वस्त रहेको भन्दै उच्च अदालत पाटनले उनलाई धरौटीमा छोड्ने आदेश दिएको हो। सन्दीप राष्ट्रिय खेलाडी भएकाले थुनामुक्त नगरेको समेत अदालतले स्पष्टीकरण दिएको छ।

"कानुनको नजर र प्रयोग सबै व्यक्तिमा समान हुन्छ। महलमा आराम गर्ने शासक देखि झुपडीमा गुजारा चलाउने नागरिकको पनि बराबरी हैसियत हुन्छ," आदेशमा भनिएको छ, "प्रतिवादी मुलुकको राष्ट्रिय क्रिकेट खेलाडी भएको कारणले नै निजलाई थुनामा नबसी मुद्दाको पुर्पक्ष गर्ने अधिकार प्राप्त हुन सक्दैन।"

आदेशले यसपछि पनि वादी पक्षले सन्दीपलाई थुनामा राख्ने कारण नदिएको भनेको छ। 

"थुनामा राख्ने सम्बन्धमा माथि कुनै वा सबै अवस्था प्रस्तुत मुद्दामा विद्यमान रहेको भनी वादी पक्षबाट विश्वसनीय रूपले इजलासलाई आश्वस्त पार्न सकेको अवस्था नहुँदा नहुँदै पनि प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा नै राख्नुपर्छ भन्ने धारणा निर्माण गरिनु पनि उपयुक्त हुँदैन।"

जिल्ला अदालत काठमाडौंले उनलाई थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेश विरूद्ध सन्दीपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए। 

उनीमाथि नाबालिग (१८ वर्षमुनि) लाई बलात्कार गरेको आरोप छ। तर सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन्। असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update