Kath khabar
नेत्रज्योति संघद्धारा नेपालगंजमा दुई हजार आठ सय ६८ विद्यार्थीको निःशुल्क आँखा जाँच


                     काठमाडौं, माघ १६ । नेपाल नेत्रज्योति संघ फत्तेवाल आँखा अस्पताल नेपालगंजको आयोजनामा बाँकेका विभिन्न चार विद्यालयका दुई हजार आठ सय ६८ जना विद्यार्थीहरूको निःशुल्क आँखा जाँच गरिएको छ । नेपाल सरकारको सहयोगमा आयोजना गरिएको उक्त निःशुल्क बिद्यालय आँखा जाँच शिविर कार्यक्रम नेपालगंज महानगरपालिकाका चार वटा सामुदायिक विद्यालयमा सम्पन्न गरिएको हो ।

फुलटेक्रा माध्यामिक विद्यालयका चार सय जना, महेन्द्र माध्यामिक विद्यालयका चार सय चार जना, युद्ध संस्कृत माध्यामिक विद्यालयका दुई सय १४ जना र धम्बोझी माध्यामिक विद्यालयका एक हजार आठ सय ५० जना विद्यार्थीहरूको निःशुल्क आँखा जाँच गरिएको अस्पतालका बाह्य कार्यक्रम प्रमुख उमर सादिकले जानकारी दिए । आँखा जाँच गरिएका विद्यार्थीहरू मध्यमा दृष्टिदोषको समस्या देखिएका ७१ जना विद्यार्थीहरूलाई निःशुल्क चस्मा समेत वितरण गरिएको सादिकले बताए ।

विद्यालय बढ्ने विद्यार्थीहरूलाई आँखाको समस्याका कारण कुनै कठिनाइ नहोस् भन्ने उद्देश्यले संघले नियमित रुपमा विद्यार्थीहरुको बिद्यालयमा गई आँखा जाँच गर्दै आइरहेको छ भने दृष्टिदोषको समस्या देखिएका विद्यार्थीहरूलाई निःशुल्क चस्मा समेत वितरण गर्दै आइरहेको छ। नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित विभिन्न अस्पतालहरुले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा देशैभरी निशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् ।

नेपाल नेत्रज्योति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा एक सय ५० भन्दा बढि आँखा उपचार केन्द्र संचालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरू मार्फत हरेक जिल्लाका नागरिकहरूलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।  

 

 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update