Kath khabar
एनसेलको सहकार्यमा ‘ह्याकिंग फर ह्युम्यानिटी’ ह्याकाथन, टिम कोड क्राफ्टर्सले जित्यो पुरस्कार


                काठमाडौं, फागुन ३ । एनसेल आजियाटा लिमिटेडसँगको प्रमुख सहकार्यमा शिक्वल फाउन्डेसनले आयोजना गरेको तीन दिने नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन ‘ह्याकिंग फर ह्युम्यानिटी’ सफलताकासाथ सम्पन्न भएको छ । यस कार्यक्रममा देशका विभिन्न ठाउँबाट आएका ४८ सहभागीहरूले एकै ठाउँमा बसेर समाजका विभिन्न क्षेत्रका लागि उपयोगी हुने सोलुसन्सहरुमा काम गरेका छन् ।

ह्याकाथनको अन्तिम दिन आइतबार सम्बन्धित समुहहरूको पिचिङ् पश्चात विजयी समुहहरूको घोषणा गरिएको थियो । ह्याकाथनमा सहभागी १६ टिम मध्ये टिम कोड क्राफ्टर्सले नगद पुरस्कार रु १५०,००० सहित प्रथम पुरस्कार जितेको छ । टिम क्राफ्टर्सको सोलुसनले सांकेतिक भाषा बुझ्न मद्दत गर्दछ । त्यस्तै पर्यटक क्षेत्र लक्षित सोलुसन बनाउँदै टिम सहयात्रीले दोश्रो स्थानमा रहन सफल भई रु १००,००० जित्न सफल भएको छ । ज्येष्ठ नागरिकलाई ध्यानमा राख्दै टिम पाईले बनाएको अर्लट सिस्टमले तेश्रो स्थान हासिल गर्दै रु ७५,००० जित्न सफल बनेको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले यस्ता ह्याकाथनले सूचना प्रविधि क्षेत्रका युवा र उत्साही महिलाहरुलाई आफ्ना नवीन सोचलाई वास्तविकतामा बदल्न र उनीहरूमा रचनात्मकता बढाउन सहयोग गरेको बताए । “यो कार्यक्रम महिलाहरुलाई सूचना प्रविधिको क्षेत्रमा आफ्नो वृत्तिविकास गर्नका लागि प्रेरणादायी साबित भएको छ । यसले महिला र नन-बाइनरी छात्राहरूलाई अवसरका साथै उनीहलाई आवश्यक प्लेटफर्म प्रदान गरेको छ ।”

एनसेलले विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) प्रति आफ्नो प्रतिवद्धता अनुरूप महिलाहरूलाई सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्ने प्रमुख उद्देश्य अनुरुप शिक्वल फाउन्डेसनसँग ह्याकाथनका लागि सहकार्य गरेको थियो । गर्ल्स इन टेक र वुमन इन बिग डेटा साझेदारको रुपमा रहेको यस कार्यक्रमले डेभलपर्स, डिजाइनर्स र उद्यमीहरूलाई एक साथ नवीन सोलुसन्स्हरु विकासको लागि अवसर प्रदान गरेको थियो ।

माघ २७ देखि २९ सम्म आयोजना गरिएको यस ह्याकाथनमा विभिन्न विषयहरूमा टक कार्यक्रम र कार्यशालाहरु आयोजन गर्दै सहभागी छात्राहरुलाई आफ्नो प्रोजेक्टको विकासको लागि चाहिने सीपहरू प्रदान गरियो । पहिलो दुई दिन आफ्नो सोलुसनमा काम गरी सहभागी टिमहरुले तेस्रो दिन आइतबार निर्णायक मण्डलसामु आफ्नो आइडियाको पिचिङ गरेका थिए । यस ह्याकाथनमा सहभागी हुँदा सहभागीहरुले विभिन्न क्षेत्रका विज्ञ व्यक्तित्वहरुबाट प्रशिक्षण पाएका थिए ।

शिक्वल फाउन्डेसनका सह-संस्थापकहरु आस्था शर्मा र मेलिशाा घिमिरेले सहभागी सबैलाई उहाँहरुको उत्साह र कडा परिश्रमकोलागी कृतज्ञता व्यक्त गरे र आगामी ह्याकाथनको लागी तत्पर रहेको बताए । यस कार्यक्रमले सूचना प्रविधिमा रहेका महिला र नन-बाइनरी ह्याकरहरुलाई एकअर्कासँग सहकार्य गर्न र आफ्ना नवीन सोचलाई सोलुसन्समा परिवर्तन गर्न प्लेटर्फम प्रदान गरेको थियो ।

महिलालाई लक्षित गर्दै आयोजना गरिएको यो नेपालकै ठूलो र पहिलो ह्याकाथन हो । यस्ता कार्यक्रमले सूचना प्रविधिको क्षेत्रमा महिलाहरुको प्रतिनिधित्व र आवद्घता बढाउँदै डिजिटल अर्थतन्त्रमा महिलाहरूको समान सहभागितालाई बढाउन मद्दत गर्दछ र समस्त समाज र अर्थतन्त्रलाई फाइदा पुर्याउँछ ।

 

 

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update