Kath khabar
चितुवाले लछारेर १५ मिटर टाढा लगेको व्यक्तिलाई कुकुरले बचायो

 

                     बझाङ, फागुन ९ ।  २५० भेडाको लस्करको अग्रभागमा राजमल हिँडिरहेका हुम्लाको सिमिकोट गाउँपालिका ७, पाग्लातुमका राजमल शाही र उनका २ जना साथीहरू भेडाको बथानको पुछारमा थिए । मध्य भागमा २ वटा कुकुर थिए । खप्तड राष्ट्रिय निकुञ्जको फेदीमा पर्ने गडरायकै काडातोला भन्ने ठाउँ पुग्दै गर्दा राजमल र केही भेडाहरू डाँडो काटेर ओरालो लागिसकेका थिए । उनका साथीहरू र कुकुर डाँडा पारी आउँदै थिए ।

२८ वर्षीय राजमल बाटो छाडेर तलमाथी गएका भेडाहरूलाई बाटोमा फर्काउँदै थिए । आफूभन्दा करिब ६/७ मिटर तलबाट चितुवा गर्जिएको आवाज उनले सुने र उनी भएतिर आउन खोज्दै गरेको शाहीले पत्तो पाए ।

‘शरीरमा गोलो गोलो बुट्टा थियो । मलाई देख्नेबित्तिकै ह्वाँ गर्दै कराएर झम्टिहाल्यो’ चितुवाको आक्रमणबाट बाँच्न सफल राजमलले भने, ‘भागौँ भनेर अर्कोतिर फर्किन पनि पाएको थिइनँ । सेकेन्डभरमै आएर मेरो दायाँ पाखुरा समात्यो ।’

चितुवाले झम्टेपछि त्यहाँबाट उठाएर आफूलाई ३/४ मिटर तल फालेको र त्यसरी फाल्दा दायाँ पाखुराको मासु लुछिएको उनले बताए । ‘फालेको ठाउँमा आएर फेरि बायाँ पाखुरामा समात्यो । त्यसपछि घिसार्दै लगेर १२/१४ मिटर तलको खोलामा फाल्यो । ढुङ्गा मात्रै भएको भए त त्यहीँ खोलामै मरिहाल्थेँ होला । बाच्न लेखेको रहेछ,’ उनले भने । त्यति माथिबाट खोलामा फाल्दा समेत पानी जमेर ताल जस्तो ठाउँमा परेका कारण आफूलाई थप चोट लाग्न नपाएको उनले बताए । पानीको तालमा परेर चितुवाले नसमातेर केहीबेर वरिपरि फन्को लगाएको बताए ।

यतिन्जेल उनका टाठा कुकुरले मालिक माथि आक्रमण भएको थाहा पाइसकेका थिए । दुवै कुकुर हुर्रिंदै आएर चितुवालाई आक्रमण गरे । २ वटा कुकुर र चितुवाबीच झन्डै १५ मिनेटजति लडाइँ चल्यो । ‘चितुवा मलाई समाउनलाई आउन खोज्थ्यो । दुवै कुकुर सँगै भएर चितुवालाई झम्टिन्थे ।

कुनै हालतमा पनि चितुवालाई म नजिक आउन दिएनन्,’ राजमलले भने, ‘दुवै कुकुर पनि घाइते भएका छन् । त्यति छिटो कुकुर नपुगेको भए मलाई चितुवाले त्यहीँ मारिहाल्थ्यो । भगवानको रुपमा कुकुर आएर मलाई बचाए ।’ कुकुरको पछि-पछि आएका उनका साथीहरू पनि चितुवा भएको ठाउँमा आइपुगेपछि चितुवा भागेको र साथीहरूले आफ्नो उद्धार गरेको उनले बताए ।

कुकुरकै कारण राजमलको ज्यान जोगिएकोमा उनका परिवारका सदस्य खुसी भएका छन् । ‘कुकुर नभएको भए भाइको ज्यान जोगिने थिएन,’ उनका दाइ यज्ञबहादुर शाहीले भने, ‘पशु भएर पनि कुकुरले हाम्रो परिवारको खुसी बचाइदियो । यी कुकुरले हाम्रो परिवारलाई ठूलो गुन लगाए ।’ उनले दुवै कुकुर ५ वर्षदेखि भेडासँग हिँड्ने गरेको र चौबिसै घण्टा भेडाको पहरा दिने गरेको बताए ।

शनिबार काडातोलाबाट उद्धार गरेर खप्तडछान्नाको स्थास्थ्यचौकीमा प्राथमिक उपचार गरेका शाहीलाई सोमबार मात्रै थप उपचारका लागि जिल्ला अस्पताल बझाङ ल्याइएको छ । उनको दुवै हात, पाखुरा र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । हात र पाखुराको हड्डी चर्किर्एको छ । उनको अवस्था खतरामुक्त रहेको चिकित्सकहरूले बताएका छन् । ‘चोट पटक धेरै लागेको भए पनि उनको अवस्था खतरामुक्त छ,’ जिल्ला अस्पतालका प्रमुख डाक्टर नवराज जोशीले जिल्ला अस्पतालमा नै उनको उपचार गरिने बताए ।

बझाङमा पछिल्लो समय बस्ती नजिकै चितुवाहरू देखिन थालेका छन् । गत माघ २८ गते जयपृथ्वी नगरपालिकाको नाउली नमादेउ सामुदायिक वनमा थलारा गाउँपालिका ९ का धनबहादुर विष्टका १० वटा बाख्रा चितुवाले आक्रमण गरेर मारेको थियो । दिउँसै चितुवाले आक्रमण गर्न थालेपछि स्थानीयहरू घाँस दाउरा गर्न जंगलमा जाँदा त्रसित हुन थालेको खप्तडछन्ना गाउँपालिका ९का स्थानीय मंगलबहादुर खड्काले बताए ।

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update