Kath khabar
बाग्लुङमा नेत्रज्योति संघको निःशुल्क आँखा शिविर, ६८ जनाले पाए गुमेको ज्योति



                    काठमाडौं, चैत ३ । नेपाल नेत्र ज्योति संघ बाग्लुङ, आँखा सेवा केन्द्र बुर्तिवाङ, बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र ढोरपाटन नगरपालिकाको संयुक्त आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । फागुन २९ गतेदेखि चैत्र १ गतेसम्म प्राथमिक स्वास्थ्य केन्द्र ढोरपाटनमा सञ्चालन गरिएको शिविरमा ६८ जनाको मोतिविन्दुको निशुल्क शल्यक्रिया गरिएको थियो भने ६ सय ६८ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो ।

नेपाल नेत्रज्योति संघले पैसाको अभावका कारण  कोही पनि अन्धोपनमा जीवन बिताउन  नपरोस् भन्ने हेतुले पछिल्लो समय हुनेसँग लिने र नहुनेलाई सेवा दिने उद्देश्यले स्थानिय सरकारसँगको साझेदारीमा उज्यालो अभियान कार्यक्रम सञ्चालन गदै आएको छ । जस अन्तर्गत नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा बागलुङको ढोरपाटन नगरपालिकामा शिविर सञ्चालन गरिएको  थियो  ।

मोतिबिन्दु रोग नेपालमा रहेको दृष्टिविहीनताको  सबैभन्दा प्रमुख कारण हो । जुनसुकै उमेरका मानिसमा पनि यो समस्या देखिन सक्छ तर, अधिकांशमा उमेर बढ्दै गएपछि मोतिबिन्दु हुने सम्भावना पनि बढ्दै गएको पाइन्छ ।

मोतिबिन्दु भइसकेपछिको सबैभन्दा प्रभावकारी उपचार शल्यक्रिया नै हो । यो रोग औषधीले ठीक हुँदैन । शल्यक्रिया गर्न नपर्ने अवस्थामा चश्माको प्रयोगबाट पनि धरै हदसम्म सफा हेर्न मद्दत गर्दछ तर पूर्ण सफा हेर्नको लागि शल्यक्रिया नै गर्नु पर्ने हुन्छ । आजभोलि प्रविधिमा आएको विकासले मोतिबिन्दुको शल्यक्रिया गरेको केही घण्टा मै बिरामी आफ्नो सामान्य दैनिकीमा फर्कन सक्छन् ।

नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित विभिन्न अस्पतालहरुले विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा देशैभरी वार्षिक करिब ३ हजार निशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् । नेपाल नेत्रज्योति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढि आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरू मार्फत हरेक जिल्लाका नागरिकहरूलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।   


 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update