Kath khabar
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन सार्वजनिक

          

                       काठमाडौं, चैत २८ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको आठ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । मंगलबार गर्भनर महाप्रसाद अधिकारीले विशेष पत्रकार सम्मेलन गरेको उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन ।

प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा कुल वस्तु निर्यात २९ दशमलव एक प्रतिशतले कमी आई एक खर्ब चार अर्ब ८० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८२ दशमलव नौ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ३७ दशमलव पाँच प्रतिशत र चार दशमलव नौ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात छ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा जिंक सिट, अलैंची, पार्टिकल बोर्ड, ऊनी गलैँचा, चिया लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०७९/८० को आठ महिनामा कुल वस्तु आयात १९ दशमलव एक प्रतिशतले कमी आई १० खर्ब ५८ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३८ दशमलव छ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १७ दशमलव छ प्रतिशत, २१ दशमलव सात प्रतिशत र २१ दशमलव चार प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पोन्ज आइरन, सुन, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एम.एस.विलेट, कच्चा भटमासको तेल, दूरसञ्चारका उपकरण तथा पार्ट्स लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ भैरहवा, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । आर्थिक वर्ष २०७९/८० को आठ महिनामा कुल वस्तु व्यापार घाटा १७ दशमलव नौ प्रतिशतले कमी आई नौं खर्ब ५३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३४ दशमलव पाँच प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात नौं दशमलव नौ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११ दशमलव तीन प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्‌र्य विदेशी मुद्रा भुक्तानी गरी ८५ अर्ब १२ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब ४७ अर्ब तीन करोड बराबरको भएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update