काठमाडौं, वैशाख २६ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज मंगलबार भने बढेको छ । नेप्से आज १० दशमलव ६६ अंकले बढेर १८ सय ४४ दशमलव ३६ अंकमा पुग्न सफल भएको छ ।
यसैगरी सेन्सिटिभ पनि एक दशमलव ८७ अंकले बढेर तीन सय ५४ दशमलव २५ अंकमा पुग्न सफल भएको छ । आज नेप्सेमा दुई सय ६९ वटा कम्पनीहरूको २० हजार सात सय ७६ पटकको कारोबारमा २८ लाख ३६ हजार एक सय ३९ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम ७७ करोड ४७ लाख ६० हजार छ सय ४७ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएकोमा वाणिज्य बैंक, विकास बैक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ सहितका सबै समुहहरुको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज पिपुल्स पावर लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने युनिक नेपाल लघुवित्त वित्तीय संस्था, रिलायन्स फाइनान्स आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने हिमाल दोलखा हाइड्रो पावर कम्पनी, एनआईसी एशिया बैंक, शिवम् सिमेन्ट आदि परेका छन् ।

