Kath khabar
आईपीएलमा आज मुम्बई र लखनउ भिड्दै


 

                काठमाडौं, जेठ १० । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ईलिमिनेटर खेलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । चेन्नाईको एमए चिदम्बरम क्रिकेट मैदानमा हुने ईलिमिनेटर खेल नेपाली समयअनुसार बेलुका ७:४५ बाट सुरु हुनेछ ।

आज हुने लखनउ र मुम्बईबीचको खेलको विजेताले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा साविक विजेता गुजरात टाइटन्सको सामना गर्नेछ । लिग चरणमा लखनउ तेस्रो तथा मुम्बई चौँथो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएका थिए ।

मंगलबार राति भएको पहिलो क्वालिफायर खेलमा भने चेन्नई सुपर किंग्सले गुजरातलाई १५ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । चेन्नईले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याउने क्रममा गुजरातले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ५७ रनमात्र जोड्न सक्यो । गुजरातका लागि शुभमन गिलले सर्वाधिक ४२ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन जोड्यो । चेन्नईका लागि रुतुराज गाइक्वाडले सर्वाधिक ६० रनको योगदान गरे ।

यस खेलको विजेता र गुजरातबीचको दोस्रो क्वालिफायर खेल शुक्रबार अहमदाबादमा हुनेछ । दोस्रो क्वालिफायरमा विजयी हुने टोलीले फाइनलमा स्थान बनाउने छ ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update