Kath khabar
प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला बुधबारदेखि सुरु



                     काठमाडौं, जेठ १६ । प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला बुधबारदेखि एक महिनासम्म संचालन हुने भएको छ । “नेपाली उत्पादनको प्रर्वद्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित ललितपुरको जावलाखेल खेल मैदानमा मेला हुने आयोजकले जानकारी दिएको छ ।

मेलाको आयोजक नेपाली जुत्ता चप्पल उत्पादक समुहले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि बुधबारदेखि असार १७ गतेसम्म १ महिना मेला सञ्चालन हुने जानकारी दिएको हो । नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्रान्डहरू किरण शुज म्यानुफ्‌याक्चर्सको उत्पादनहरूको मेलामा सहभागिता रहने मेला संयोजक दिवाकर गिरिले जानकारी दिए ।

उनका अनुसार मेलामा गोल्डस्टार, रोयल सुज, वि.एफ डियर हिल र वि.एफ स्पोर्ट, क्रस रोड शुज, फस्टवाक शुज, सिल, हाई लाईफ,केटिएम, डि.जे. शुज गरि ९ वटा कम्पनी र ब्रान्डहरुको सहभागिता रहनेछ । यस्तै मेलामा ३ हजार भन्दा बढि मोडल र डिजाइनका जुत्ताहरू उपलब्ध हुनेछन् भने नयाँ उत्पादनहरुको समेत लन्च गरिने भएको छ । मेलामा नेपाली र गुणस्तरीय उत्पादन रहनेछन् । मेला अवधिभर न्यूनतम २० प्रतिशत देखि कतिपय उत्पादनहरूका ५० प्रतिशतसम्मको विषेश छुटको व्यवस्था गरिएकोछ । मेला अवधिभरमा ३ लाख अवलोकन कर्तालाई अवलोकन गराउने लक्ष्य राखिएको मेला संयोजक गिरिले जानकारी दिए ।

मेला अवधिभरमा ५ करोडको कारोबार गर्ने लक्ष्य राखिएको छ । यस्तै मेलामा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । आर्थिक मन्दी र बैंकहरुमा देखिएको आर्थिक तरलता तथा आर्थिक अभावका कारण विषम परिस्थितिमा रहेका उद्योगी व्यवसायीहरूको मस्तिष्कलाई सकारात्मक बनाउँदै देशको अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउनका निमित्त मेला आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update