Kath khabar
आज विश्व धुम्रपान तथा सुर्तीजन्य पदार्थ रहित दिवस

 

                  काठमाडौं, जेठ १७ । आज विश्व धुम्रपान तथा सुर्तीजन्य पदार्थ रहित दिवस मनाईंदैछ । हरेक वर्ष मे ३१ तारिखमा सुर्तीजन्य पदार्थ रहित दिवस मनाउने गरिन्छ ।

‘हामीलाई खाना चाहिन्छ, सुर्ती होइन’ भन्ने नाराका साथ दिवस मनाईंदैछ । दिवसका अवसरमा धूम्रपान तथा सुर्तीजन्य पदार्थले ब्यक्ति, परिवार, समाज र वातावरणमा पार्ने असरबारे सचेत गराउने गरिन्छ । विश्वमा सुर्तीजन्य पदार्थको सेवनबाट हरेक वर्ष झण्डै ८० लाख मानिसको ज्यान जाने गरेको तथ्याङ्क छ । सुर्तीजन्य पदार्थ सेवन नगरेमा ९० प्रतिशत फोक्सोको क्यान्सर हुनबाट बच्न सकिने डाक्टरले बताएका छन् ।

क्यान्सर सहित विभिन्न रोगको जोखिमबाट बच्न धूम्रपान तथा सुर्तीजन्य वस्तु नखान पनि डाक्टरको सुझाव छ । धूम्रपान तथा सुर्तीजन्य पदार्थले मुखको वा फोक्सोको क्यान्सर मात्र नभइ कम्तीमा पनि शरीरका अरु १२ अंगको क्यान्सर गराउने जोखिम हुन्छ । नेपाल धुम्रपान गर्ने देशहरुको २२ औं स्थान पर्छ । सुर्तीजन्य पदार्थ तथा धूम्रपानले मुटुको रोग, फोक्सोको समस्या, मस्तिष्कघात हुने गर्छ ।

गर्भावस्थामा यसको प्रयोगले कम तौल भएको बच्चा जन्मने तथा समय अगाडि नै बच्चा जन्मिने, गर्भ तुहिने लगायत हुन सक्छ । नेपालले सुर्तीजन्य बस्तुको नियन्त्रण सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरी सदस्य देश बनिसकेको छ । नेपालले सन् २००६ नोभेम्बरमा महासन्धि अनुमोदन गरेको हो ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update