Kath khabar
मुलुकको निर्यात व्यापार कमजोर


                    काठमाडौं, जेठ २६ । मुुलुकको निर्यात व्यापार कमजोर देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० को १० महिनामा कुल वस्तु निर्यात २४ दशमलव पाँच प्रतिशतले कमी आई एक खर्ब ३० अर्ब ९० करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५९ दशमलव आठ प्रतिशतले वृद्धि भएको थियो ।

राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३३ दशमलव छ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः १०० दशमलव छ प्रतिशत र आठ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैँचा, पोलिस्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७९/८० को १० महिनामा कुल वस्तु आयात १६ दशमलव आठ प्रतिशतले कमी आई १३ खर्ब ३५ अर्ब ३२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २८ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १५ दशमलव एक प्रतिशत, २१ प्रतिशत र १८ दशमलव छ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, सुन, पेट्रोलियम पदार्थ, कागज लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एम.एस.विलेट, औषधी, अन्य मेशिनरी तथा पार्टस्, दूरसञ्चारका उपकरण तथा पार्ट्स लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ भैरहवा, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को १० महिनामा कुल वस्तु व्यापार घाटा १५ दशमलव नौं प्रतिशतले कमी आई १२ खर्ब चार अर्ब ४२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४.९ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात नौं दशमलव आठ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० दशमलव आठ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्‌र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब १९ अर्ब ६० करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब ८३ अर्ब ९४ करोड बराबरको भएको थियो ।

समीक्षा अवधिमा खुद सेवा आय ५७ अर्ब ७४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ८८ अर्ब १८ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९३ दशमलव आठ प्रतिशतले वृद्धि भई ५१ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २६ अर्ब ७७ करोड रहेको थियो । समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ३५ दशमलव तीन प्रतिशतले वृद्धि भई एक खर्ब दुई अर्ब ४९ करोड पुगेको छ ।

यसमध्ये शिक्षातर्फका व्यय ७५ अर्ब १४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ७५ अर्ब ७३ करोड रहेकोमा शिक्षातर्फको व्यय ५१ अर्ब ३४ करोड रहेको राष्ट्र बैंकको भनाई छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update