Kath khabar
आलु र प्याजमा भ्याट लगाउने सरकारको कदम अनुचित



                   काठमाडौं, जेठ २९ । नेपालमा आलु र प्याजको आयात निर्यात तथा थोक बिक्रेताले आलु र प्याजमा भ्याट लगाउने सरकारको कदम अनुचित, अव्यवहारिक, अनावश्यक, अन्यायपूर्ण तथा महङ्गीलाई मलजल गर्ने किसिमको भएको बताएका छन् । उनीहरूले आलु र प्याजमा भ्याट लगाउँदै अर्थमन्त्री प्रकाशशरण महतले आत्मघाती कदम कदम चालेको आरोप लगाएका हुन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल कृषिउपज आलु प्याज आयात निर्यात थोक बिक्रेता संघले आलुप्याजमा १३ प्रतिशत भ्याट लगाउँदा यस्ता वस्तु एक तिहाईका दरले महँगिने भएकाले यो निर्णयबाट व्यवसायी हतोत्साहित र उपभोक्ता चिन्तित रहेको बताए । बजेट र आर्थिक विधेयक २०८० ले व्यवसायमा परेको असरबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष मोहन बानियाँले आयातको तथ्याङ्क हेरेर भ्याट लगाउने निर्णय गरेर सरकार उल्टो बाटो हिँडेको बताए ।

अर्थमन्त्री महतको घोषणा मुलुक, उपभोक्ता र सयौँ व्यवसायीको विरुद्धमा रहेको भन्दै बानियाँले भने, “यस्तो व्यवस्थाले व्यवसायीले आलु प्याज आयात गर्न नसक्ने, उपभोक्ताले बजारमा खरिद गर्न नसक्ने अवस्था सृजना भएको छ ।” अध्यक्ष बानियाँका अनुसार यसको सोझो असर उपभोक्ता, यसका कारोबारमा संलग्न व्यवसायी र अन्तमा हरेक नेपाली भान्सासम्मै पर्ने निश्चित छ ।

सरकारको नीतिपछि व्यवसाय बचाउन आफूहरू हारगुहार गरिरहेको भन्दै उनले भन्सार नाकाका आएको वस्तु भन्सार पास गर्न पनि नसकेको बताए ।

आलु र प्याज जस्तो नाशवान् वस्तुमा अध्ययन बिनै भ्याट लगाइँदा व्यवसायी पलायन हुने र यसले अनौपचारिक व्यवसाय गर्नेलाई प्रोत्साहन मिल्ने बानियाँको दाबी छ । कर लगाउँदा व्यवसायमा के असर पर्दछ भनी अध्ययन नगरी हचुवाको निर्णय लिँदा वर्षौँदेखि व्यवसाय गरिरहेकाहरू व्यवसाय गर्न नसक्ने अवस्थामा पुगेको बानियाँको तर्क छ । अध्यक्ष बानियाँ भ्याटको निर्णयबाट पछाडि फर्कन पनि अर्थमन्त्रीलाई आग्रह पनि गरे ।

कार्यक्रममा बोल्दै संघका महासचिव प्रकाश गजुरेलले सरकारले दैनिक उपभोग्य वस्तु आलु प्याजमा सरकारले अनावश्यक बखेडा झिकेर बजार बिगारेको आरोप लगाए । नियमित र व्यवस्थित कारोबार गरिरहेका व्यवसायीलाई हतोत्साहित बनाएर अनौपचारिक कारोबारलाई राज्यले प्रोत्साहन गरेको उनले बताए ।

आलु प्याज नाशवान् प्रकृतिको वस्तु आयात गरी बजारसम्म पुर्याउँदा बिग्रने, सड्ने तथा गल्ने भएको हुनाले परिमाणमा फरक पर्ने भन्दै उनले यस्तो अवस्थामा पूर्ण परिमाणमा मुअ कर तिरेको भए तापनि सम्पूर्ण वस्तुहरु बजारमा बिक्री नहुने भएकालै तिरेको भ्याट फिर्ता वा समायोजन गर्न समेत व्यवसायीलाई कठिन हुने गरेको भन्दै आलु, प्याजमा भ्याट आकर्षित गर्नु अव्यवहारिक रहेको जिकिर गरे ।

“हाल आलुप्याजमा ९ प्रतिशत कृषि सेवा शुल्क, अग्रिम आयकर ५ प्रतिशत गरी १४ प्रतिशत कर तिर्दै आएका छौं,” उनले भने, “यस्तो अवस्थामा थप १३ प्रतिशत भ्याट बुझाउनु भनेको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा दैनिक भान्सामा लाग्ने खर्च बढाउनु हो । उपभोक्तालाई थप करको भार थप्नु उपभोक्तालाई अन्याय गर्नु ठहर्छ ।”

संघका उपाध्यक्ष दीपेन्द्र श्रेष्ठले सरकारलाई तत्काल भ्याटको निर्णयबाट पछि हट्न आग्रह गरे । दिनप्रतिदिन आलु प्याजको बजार बिग्रिरहेको भन्दै उनले थप संकट रोक्न सरकारसँग माग गरे ।

सरकारले आर्थिक विधेयक २०८० मार्फत आलु प्याज लगायतका कृषि उपजमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिने व्यवस्था हटाएसँगै आलु प्याजको व्यवसाय गर्नेहरु भ्याटको दायरामा आएका छन् । चालु आवको बैशाखसम्म नेपालमा ६ अर्ब ९८ करोडको आलु आयात भएको छ । यसबाट राज्यले ७१ करोड ७४ लाख रुपैयाँ राजस्व आम्दानी गरेको छ । यस्तै ५ अर्ब ७० करोडको प्याज आयात हुँदा ५७ करोड रुपैयाँ राजस्व उठेको छ । आलु प्याजमा भ्याट लाग्ने भएपछि व्यवसायीहरू बजेट वक्तव्यका कारोबार नै नगरी बसेका छन् । यस्तो अवस्थामा फाइदा उठाउने समूह पनि सक्रिय रहेको पाइएको छ ।

मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसुची १ को समूह क आधारभूत कृषि उत्पादनहरु) अन्तर्गत मूल्य अभिवृद्धि कर (भ्याट) छुट हुने वस्तु तथा सेवाहरुको सूचीमा आलु तथा प्याज रहँदै आएकामा आर्थिक ऐन, २०८० बाट ऐन संशोधन गर्दै भ्याट छुट दिइएको वस्तुको सूचीबाट आलु र प्याज हटाइएको हो ।

नेपाल कृषि उपज आलु प्याज आयात निर्यात तथा थोक बिक्रेता संघ आलु र प्याजको व्यवसाय गर्ने व्यवसायीहरुको संघ हो । संघका सदस्यहरुले भारत र तेस्रो मुलुकबाट आलु प्याज आयात गरि नेपालमा थोक बिक्री वितरण गर्दै आएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update