Kath khabar
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोड रूपैयाँको बजेट

 

                 काठमाडौं, असार १० । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष (२०८०/८१ ) का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

काठमाडौँ महानगरका उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सुनिता डङ्गोलले राष्ट्रिय सभागृहमा आज सार्वजनिक गरेको बजेटमा चालुतर्फ रु आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ रु १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार बजेट बिनियोजन गरिएको छ ।

महानगरपालिकाले चालु आवका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ रूपैयाँको बजेट विनियोजन गरेको थियो । चालु अवाको तुलनामा आगामी आवको बजेट करिब १४ करोड रूपैयाँले बढी हो ।

आगामी आवको बजेटमा स्वास्थ्य, शिक्षालाई र पूर्वाधारलाई प्राथमिता साथ बजेट विनियोजन गरिएको छ । जसअन्तर्गत पूर्वाधारमा सबैभन्दा धेरै रु सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार, शिक्षामा एक अर्ब ३२ करोड रूपैयाँ र स्वास्थ्यमा ९२ करोड ६६ लाख ४४ हजार रूपैयाँ बजेट विनियोजन गरिएको छ ।

बजेटमा भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवद्र्धनजस्ता विषयले समेटिएका छन् । आगामी आर्थिक वर्षका लागि महानगरलाई सङ्घीय सरकारबाट रु दुई अर्ब १४ करोड ३१ लाख प्राप्त भएको छ ।

कामपाले १० विषयगत क्षेत्रका महानगर गौरवको योजनाका लागि रु तीन अर्ब ८० करोड विनियोजन गरेको छ । महानगर स्वर्णिम योजना अन्तर्गत २५ वटा विषयगत क्षेत्रका योजनाका लागि रु दुई अर्ब विनियोजन गरिएको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् ।

 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update