Kath khabar
नयाँ आर्थिक वर्ष सुरु, नयाँ कर आजबाट कार्यान्वयनमा

 

             काठमाडौं, साउन १ । आजदेखि आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले घोषणा गरेका आर्थिक सम्बन्धी नयाँ प्रावधानहरू कार्यान्वयनमा आएका छन् ।

आयकर ऐन २०५८ मा सरकारले गरेको संशोधित व्यवस्था अनुसार आज साउन १ गतेदेखि वाषिर्क ५० लाख रुपैयाँभन्दा बढी कमाउनेलाई ३९ प्रतिशत आयकर लाग्ने छ । यसअघि वाषिर्क २० लाख रुपैयाँभन्दा माथि कमाउनेहरूलाई ३६ प्रतिशत आयकर लाग्ने गरेको थियो ।

सरकारले पहिलो पटक सुरु गरेको विलासिता कर पनि आजैदेखि कार्यान्वयनमा आएको छ । सरकारले पाँचतारे वा सोभन्दा माथिका होटेल, रेस्टुरेन्ट तथा रिसोर्टहरुले प्रदान गर्ने सेवामा २ प्रतिशत विलासिता कर लगाएको छ ।

साथै सरकारले १० लाखभन्दा बढीको बहुमूल्य धातुमा पनि २ प्रतिशतकै दरले विलासिता शुल्क लगाएको छ । ट्राभल एजेन्सीहरूले बिक्री गर्ने वैदेशिक भ्रमण प्याकेजमा पाँच प्रतिशत पर्यटन शुल्क पनि आजदेखि कार्यान्वयनमा आएको छ ।

गत जेठ १५ गते सरकारले बजेट सार्वजनिक गरे लगत्तै भन्सार महसुल, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, सडक निर्माण दस्तुर र मोबाइल फोनको दर्ता सम्बन्धी व्यवस्था भने कार्यान्वयनमा आइसकेका छन् ।

सरकारले आयातित मदिरा र १० लाख रुपैयाँभन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गहनामा समेत सोही दरमा कर लागु हुने बजेटमा उल्लेख छ । यस्तो कर होटल तथा रिसोर्टले सेवा प्रदान गरेको बेला नै असुल गर्नुपर्ने भएको छ ।

आयातित मदिराको भन्सार विन्दुमै पैठारीका बेला असुली हुनेछ भने १० लाखभन्दा बढीका धातुका गहना बिक्रेताले असुल गर्नुपर्ने छ ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update