Kath khabar
भिटोफको स्थापना दिवस ललितपुरको लेलेमा



                       ललितपुर, साउन १७ । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ नेपाल) को आयोजना तथा एसइआई पर्यटन मञ्चको व्यवस्थापनमा ललितपुरको लेलेको जयलकुमारी बालकुमारी महिला समूहका महिलाहरूलाई होमस्टे सञ्चालन पूर्वतयारी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

 गाउँ पर्यटन प्रवर्द्धन मञ्चको १८ जना सदस्यहरुको टोलीले ललितपुर महानगरपालिका वडा नं. २७ सुनाकोठीमा अवस्थित भृगारेश्वर महादेवको दर्शन, बालकुमारी चौर, भीमसेनलगायतका पुरातात्विक सम्पदाहरुको अवलोकन भ्रमण गरेको थियो । पहिलो पटक सुनाकोठी अवलोकन तथा भ्रमण गरेका आन्तरिक पर्यटकहरुलाई पथ प्रदर्शकको रुपमा विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनले स्थानीय सम्पदाहरुकोबारेमा जानकारी दिएको थियो ।

सुनाकोठीको ऐतिहासिक प्राकृतिक सम्पदाहरुको अवलोकन पश्चात नेवारी परम्परा अनुसार बिहानीको खानाको ब्यवस्था सुनाकोठीको काजी छेँ: मा गरेको थियो । नेवारी परिकार चाकु र खुवाको योमरीसहितको बिहानीको खाजा पश्चात भिटोफ नेपालका सदस्यहरु गोदावरी नगरपालिका वडा नं. ५ मा रहेको लेलेमा पुगेको थियो ।

यहाँ रहेको जयलकुमारी बालकुमारी महिला समूहले धिमेबाजासहित स्वागत गरेको थियो । बाजागाजासहित टिका र कोखाः लगाएर न्यानो स्वागत पश्चात गो ग्रीन भ्याली नेपालको सहयोगमा भिटोफ नेपालका सम्पूर्ण सदस्यहरुले लेलेको सार्वजनीक स्थानमा फलफूलका बोटविरुवा रोप्ने काम पनि गरेको थियो ।

वृक्षारोपण पश्चात लेलेको पौराणिक ऐतिहासिक तिलेश्वर महादेव र सरस्वती कुण्डको भ्रमण अवलोकन गरेर स्थानीय महिला समूहलाई गाउँ पर्यटन प्रवर्द्धन मञ्चकोबारेमा जानकारी दिनुका साथै होम स्टे सञ्चालनकोबारेमा अन्तरक्रिया कार्यक्रम भएको थियो । भितोफ नेपालका सदस्यहरुले जयलकुमारी बालकुमारी महिला समूहलाई पाँच हजार सहयोग गरेर लेलेबाट बिदाई भएको थियो ।

यहाँबाट फर्किने क्रममा बाटोमा पर्ने बज्रबाराही मन्दिर र ठेचोको पुरातात्विक सम्पदाहरू बालकुमारी, नवदुर्गालगायतका स्थानहरुको भ्रमण गरेर फर्केको थियो । यसरी भिटोफ नेपालको २७औं स्थापना दिवस ललितपुरको अवलोकन भ्रमण गरेर मनाएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update