Kath khabar
आन्तरिक राजस्व कार्यालयद्वारा कर नबुझाउने १९ करदाताको बैंक खाता र सम्पत्ति रोक्का

 

                 पर्सा, भदौ ४ । आन्तरिक राजस्व कार्यालय बिरगन्ज पर्साले लामो समयदेखि कर नबुझाउने १९ जना करदाताको बैंक खाता तथा सम्पत्ति रोक्का गरी बक्यौता उठाउने तयारी गरेको छ।

दर्ता भएर पनि लामो समय देखि कर नबुझाउने पर्सा बिरगन्जस्थित खुसी जनरल स्टोर, सिद्धिविनायक ट्रेडर्स, माँ शक्ति ट्रेडर्स, दीनानाथ ट्रेडर्स, जगदीश एन्ड ब्रदर बडिमेकर, देवेन्द्र तेल उद्योग, डेल्टा सेक्युरिटी सर्भिस प्रालि, रिधान सप्लायर्स, टाइगर जब्स सेक्युरिटी सर्भिस प्रालि, गणपति ट्रेड इन्टरनेसनल, सम्राट ढुवानी सेवा कारबाही स्वरूप बैंक खाता र सम्पत्ति रोक्का गरिएको प्रमुख कर अधिकृत ढाकाराम तिवारीले जानकारी दिए।

यस्तै, पर्साको बिरगन्जकै पटेल किराना स्टोर्स, ब्रदर टेक्सटाइल इन्डष्ट्रिज, कन्ट्रक्ट एक्सप्रेस कुरियर सर्भिस, कम्प्युट्रोनिक्स कलर ल्याब प्रालि, सुशील किराना स्टोर्स र ज्योति मनी चेन्जर्स, गहवामाई ट्रान्सपोर्ट प्रालि र सुरज मेसिनरीको पनि बैंक खाता र सम्पत्ति रोक्का गरिएको प्रमुख कर अधिकृत तिवारीले बताए। 

प्रमुख तिवारीका अनुसार कर नबुझाएका करदाता माथि कारबाही गरी आव ०७९/८० मा रु. १४ करोड ३९ लाख बक्यौता संकलन गरिएको छ।

‘पटक पटक कर बुझाउन मौखिक र पत्राचार गरिए पनि कर बुझाउन आलटाल गर्ने करदाता माथि कारबाही अघि बढाएका छौँ,’ प्रमुख कर अधिकृत तिवारीले भने, ‘त्यही करमा हामीले १९ जना करदाताको बैंक खाता, कारोबार, घरजग्गा र आयात निर्यात रोक्का गरेका छौँ।’  सबै रोक्का भएपछि केही करदाता कर बुझाउन समेत आएको उनको भनाइ थियो।

नियमित बजार अनुगमन थाले पछि आव ०७९/८० मा करदाता समेत बढेको आन्तरिक राजस्व कार्यालय बिरगन्जले जनाएको छ। आव ०७९/८० मा पर्सामा व्यावसायिक तर्फको करदाता २ हजार ७५० र व्यक्तिगत १० हजार २२५ नयाँ करदाता थपिएको प्रमुख कर अधिकृत तिवारीले बताए।

यो सँगै पर्सामा व्यावसायिक ४७ हजार ८८० र व्यक्तिगत ६६ हजार ५५५ गरी १ लाख १५ हजार ४ सय ३५ करदाताको संख्या पुगेको जनाएको छ। यसैबीच आन्तरिक राजस्व कार्यालय बिरगन्ज पर्साले आर्थिक वर्ष ०७९/८० मा रु. ७ अर्ब १४ करोड राजस्व संकलन गरेको छ। 
    
सो अवधिमा अन्तःशुल्क तर्फ रु. ३ अर्ब, आयकर तर्फ रु. ३ अर्ब, मूल्य अभिवृद्धि कर तर्फ रु. १ अर्ब ७४ करोड, ब्याजकर तर्फ रु. ४ करोड र घरबहाल कर तर्फ रु. ५ करोड राजस्व संकलन भएको उनले बताए। सो कार्यालयले गत आर्थिक वर्ष ०७८/७९ मा रु. ८ अर्ब ७१ करोड ६९ लाख ६० हजार राजस्व संकलन गरेको थियो।

बढ्दो आर्थिक तरलता, विभिन्न कारण देखाउँदै बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह नहुनु तथा विभिन्न सामानको आयातमा सरकारले गरेको प्रतिबन्ध लगायतका कारणले राजस्व संकलन घटेको प्रमुख कर अधिकृत तिवारीको भनाइ छ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update