Kath khabar
ललितपुर १ वडामा महानगरकै पहिलो डिजिटल स्वास्थ्य प्रोफाइल निर्माण



                   ललितपुर, भदौ ११ । ललितपुर महानगरपालिका १ वडा कुपण्डोलले वडावासीहरूको सम्पूर्ण स्वास्थ्यसँग सम्बन्धित विषयहरुलाई समेटी डिजिटल स्वास्थ्य प्रोफाइल निर्माण कार्यको थालनी गरेको छ ।

आधारभूत स्वास्थ्य केन्द्र १ वडाका प्रमुख मधुकर मणि आचार्यका अनुसार यस स्वास्थ्य प्रोफाइलले जेष्ठ नागरिक, सुत्केरी, गर्भवती महिला, ५ वर्ष मुनीका शिशुको विवरण संकलन गर्नुका साथै समग्र वडाको स्वास्थ्य अवस्था चित्रण गर्न सकिने जनाउनु भएको छ ।

ललितपुर महानगरपालिका १ वडाका वडा अध्यक्ष निर्मल तण्डुकारले विशेष गरी ६८ वर्षमाथिका जेष्ठ वडावासीहरुलाई निमोनिया विरुद्धको खोप सुनिश्चित गर्न, बालबालिकामा खोप, पोषणको अवस्था पत्ता लगाउन, सुत्केरी र गर्भवती महिलाहरुलाई लक्षित गरी सुरक्षित मातृत्व कार्यक्रम सफल पार्नको लागि यो कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

स्वास्थ्य संयोजक समेत रहनु भएका वडा सदस्य कृष्ण महर्जनले पहिलो चरणमा स्वास्थ्य स्वयम्‌सेविकाहरूले स्थायी बासिन्दा, बहालमा बस्ने परिवार र व्यवसायीहरूको घरमा सर्भेमा गर्नुहुनेछ यस लगत्तै चिकित्सक सहित स्वास्थ्यकर्मीबाट घरदैलो स्क्रीनिङ्ग सेवा सुरु गरिने बताउनु भएको छ ।

डिजिटल स्वास्थ्य प्रोफाइलको सफ्टवेयर निर्माण, सर्वेक्षण व्यवस्थापन लगायतका प्राविधिक कार्यको जिम्मेवारी क्रिजम्याटिक डिजिटल सोलुसन प्रा.लि. ले लिएको छ । स्वास्थ्य सेवाको भावी कार्ययोजना बनाउनको साथै स्वास्थ्य शिक्षा प्रवर्द्धन गर्नको लागि वडाले विभिन्न योजनाहरु कार्यान्वयनमा ल्याएको छ ।

टेकु अस्पतालको सुलभ दररेटमा दैनिक ल्याब सेवा सञ्चालन गर्दा ललितपुर महानगरपालिका १ वडावासी मात्र नभई छिमेकी वडा र काठमाडौं महानगरपालिकाका बासिन्दाहरूले समेत लाभ लिन थालेका छन् ।

 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update