Kath khabar
एसिया कप क्रिकेट: आज नेपाल र भारत भिड्दै

 

                   काठमाडौं, भदौ १८ । नेपालले आज एसिया कपको दोस्रो खेलमा भारतसँग खेल्दैछ । एसियन कप क्रिकेट-२०२३ अन्तर्गत नेपालले भारतसँग ऐतिहासिक प्रतिस्पर्धा गर्न लागेको हो।

श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा हुनलागेको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजेबाट सुरु हुनेछ ।

नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमनेसामने हुन लागेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको करिब २७ वर्षपछि नेपालले भारतसँग पहिलो पटक खेल्ने मौका पाएको हो । त्यस्तै एसिया कपमा नेपालको यो पहिलो सहभागिता पनि हो ।

समूह ‘ए’ मा रहेका नेपाल र भारतले समान एक-एक खेलका छन् । जसमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भारतले पाकिस्तानसँग अङ्क बाँडेको थियो । वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रद्द भएपछि दुवै टोलीले समान एक-एक अङ्क बाँडेका हुन् ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो । पाकिस्तान २ खेलमा ३ अंकका साथ समूह ए बाट सुपर फोरमा पुगेको छ । भारतको एक खेलमा एक अङ्क छ भने नेपाल अङ्कविहीन छ । नेपालले पहिलो खेलमा हार बेहोरेको कारण सुपर फोरमा पुग्न जित बाहेक अन्य कुनैपनि विकल्प छैन ।

समूह बी मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा स्थान बनाउनेछन् । सुपर फोरमा चार टोलीले एक अर्काबीच खेल्नेछन् । सुपर फोरबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

एसिया कप २०२३ का लागि नेपाली टोली: कुशल भुर्तेल, आसिफ शेख (विकेटकीपर), भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, सन्दीप जोरा, प्रतिस जीसी, अर्जुन साउद, मौसम ढकाल, किशोर महतो ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update