Kath khabar
खोकनाको लिच्छविकालीन १२ वर्षे रुद्रायणी जात्रा जहाँ खोकनावासीले १ वर्षसम्म बिहे गर्न पाउँदैनन् 

 

                  ललितपुर, भदौ १८ ।  ललितपुरको खोकनामा लिच्छविकालीन इतिहास बोकेको १२ वर्षे रुद्रायणीदेवी मेला शनिबार देखि शुरु भएको छ । शुक्रबार देवीको पूजा गरेपछि शनिबार रुद्रायणी देवीलाई मन्दिर भित्र गुप्तवास राखिएको छ । मेला शुरु भएको दिन देखि १ महिनासम्मका लागि देवतालाई मन्दिर भित्र (गुप्तवास) राखिएको र १ महिनासम्म मन्दिरको ढोका समेत नखोल्ने ललितपुर महानगरपालिका वडा नं २१ का वडाध्यक्ष रवीन्द्र महर्जनले जानकारी दिए । उनले भने, 'यो एउटा ऐतिहासिक मेला भएका कारण खोकनावासीले देवताको निम्ति १ वर्षमा केही त्याग गर्नुपर्ने हुन्छ ।'

मेला शुरु भएदेखि १ महिनासम्म खोकनावासीले छाला जन्य वस्तु प्रयोग नगर्ने, घरदेखि बाहिर गएर बास नबस्ने, पाहुनाले पनि छाला जन्य वस्तु घरमा नल्याउने र पाहुनाले घरमा बास बस्न नमिल्ने, १ महिनासम्म कुनै पनि पूजाआजा नगर्ने र १ वर्षसम्म खोकनावासीले बिहे समेत गर्न नपाइने चलन रहिआएको छ ।

यो जात्राको समयमा  रुद्रायणी मन्दिरबाट सिकालीसम्म जात्रा सुचारु गर्दा रुद्रायणी मन्दिरको आफ्नै बाटो रहेको छ । माथिल्लो ‘लाछी ’ र तल्लो ‘लाछी ’ देखि रुद्रायणी विद्यालय हुदैं सिकाली जाने मार्गलाई देवता मार्ग भन्ने गर्दछन्। कुनै व्यक्तिको मृत्यु भएमा यो बाटोबाट कुनै मलामिहरु लगिने गरिदैंन । यस मार्गको नजिक अर्को मार्ग रहेको छ, जुन मार्गलाई मलामी मार्ग भन्ने गरिन्छ । यस बाटो बाट देवतालाई लगिदैन केवल मलामी मात्र लगिने गरिन्छ ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update