Kath khabar
नेपालले भारतलाई दियो २३१ रनको प्रतिस्पर्धात्मक लक्ष्य

 

                    पालेकेले, भदौ १८ । पहिलो पटक एसिया कपमा सहभागिता जनाएको नेपालले भारतलाई जितका लागि २३१ रनको प्रतिस्पर्धात्मक चुनौती दिएको छ ।

श्रीलङ्काको पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै २३० रनको योगफल बनायो ।

अन्तर्राष्ट्रिय क्रिकेट खेलको २७ वर्षपछि पहिलो पटक भारतसँग खेलेको नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्‍यो । नेपालका लागि सुरुआती ब्याट्सम्यान आसिफ शेखले सर्वाधिक ५८ रनको योगदान दिए । उनले ९७ बलमा ८ चौकाको मद्दतमा सर्वाधिक ५८ रनको योगदान दिए । उनी एसिया कपमा तथा भारत विरुद्धको खेलमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी समेत बने ।

त्यसैगरी अर्का सुरुआती ब्याट्सम्यान कुशल भुर्तेल ३८ रन बनाएर आउट भए । शार्दूल ठाकुरको बलमा दशौँ ओभरको पाँचौँ बलमा आउट हुनुअघि उनले २५ बलमा ३ चौका र २ छक्काको मद्दतमा ३८ रन बनाएका हुन् । उनले आसिफ शेखसँग पहिलो विकेटका लागि नौ दशमलव पाँच ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । भुर्तेल पेभेलियन फर्किएपछि नेपालले लगातार विकेट गुमाउन पुग्यो ।

कप्तान रोहित पौडेल भारतका रवीन्द्र जडेजाको बलमा पाँच रनमा आउट भए । कुशल मल्ल चौथो विकेटको रूपमा दुई रनमै आउट भए । भीम सार्की पनि सात रनमा भारतका जडेजाको बलमा १६ ओभरमा बोल्ड हुन पुगे । त्यसैगरी छैटौँ विकेटको रूपमा गुल्सन झा २३ रन बनाउँदै पेभेलियन फर्किए । उनले ३५ बलमा ३ चौकाको मद्दतमा २३ रन बनाएका थिए ।

सातौँ विकेटका रूपमा नेपालले दीपेन्द्र सिंह ऐरीलाई गुमायो । उनी खेलको ४१ दशमलव एक ओभरमा २९ रन जोड्दै आउट भए । उनले २५ बलमा तीन चौकाको मद्दतमा २९ रन बनाएका हुन् । नेपालले आठौँ विकेटको रूपमा सोमपाल कामीलाई गुमायो । सोमपाललाई भारतका मोहम्मद शामीले आउट गराएका हुन् । उनले ५६ बलमा दुई छक्का र एक चौकाको मद्दतमा ४८ रन बनाए ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  २१:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update