Kath khabar
एसिया कप : बंगलादेशले भारतलाई ६ रनले हरायो


                      कोलम्बो, भदौ ३० । एसिया कपको सुपर फोर अन्तर्गतको अन्तिम खेलमा बंगलादेशले भारतलाई ६ रनले पराजित गरेको छ ।

कोलोम्बोमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले दिएको २६६ रनको लक्ष्य पन्छाएको भारत ४९ दशमलब ५ ओभरमा २५९ रनमा अलआउट भयो  । जसमा शुभमन गिलले १२१ रनको पारी खेलेपनि टोलीलाई जिताउन सकेनन् ।

बंगलादेशका मुस्ताफिजुर रहमानले ३ विकेट लिए  । भारतले १७ रनमा २ विकेट गुमाएपछि शुभमन गिल र केएल राहुलले भारतलाई सम्हाले । दुवैले तेस्रो विकेटका लागि ८७ बलमा ५७ रनको साझेदारी गरे । यो साझेदारी शेख मेहदी हसनले राहुललाई आउट गरेर तोडेका थिए ।

भारतका लागि सार्दुल ठाकुरले सर्वाधिक तीन विकेट लिए । उनले १० ओभर बलिङ गर्दा ६५ रन खर्चेर तीन विकेट लिए । त्यस्तै ८ ओभर बलिङ गर्दै ३२ रन खर्चेर मोहम्मद सामीले दुई विकेट लिए । भारतका लागि अक्षर पटेल, प्रशिद कृष्णा र रविन्द्र जडेजाले एक एक विकेट लिए ।

आजको खेल हारेपनि भारत यसअघि नै फाइनल पुगिसकेको छ । बंगलादेश भने बाहिरिसकेको छ । एसिया कपको उपाधिका लागि आइतबार भारत र श्रीलंका भिड्नेछन् ।

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  ०७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update