Kath khabar
मौलिकता गुम्दै, विकृति मौलाउँदै तीज पर्व

 

                        म्याग्दी, भदौ ३१ । हिन्दू महिलाको धार्मिक एवं सांस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै छ । गाउँ, सहरमा यसको रौनक सुरु भइसकेको छ । तीज नजिकिँदै गर्दा नेपालमा तीजको मौलिकता भने हराउँदै गएको छ र विकृति मौलाउँदै गएको छ ।

तीजको बेलामा सबै जान्छन् मेलामा,
म छोरीको आँसु खस्यो दैला ठेलामा ।
तीजको लहर आयो बरिलै ।

केही वर्षअघिसम्म हरितालिका तीज नजिकिँदै गर्दा गाउँ, सहर, गल्ली चोक, घरघरमा यस्तै गीतहरू गुन्जन्थे । तीजका यस्ता गीतले महिलाले सासू–ससुरा र श्रीमानको खटनले मन लागेका बेलामा माइत जान नपाइएका, माइतीबाट बुबा, दाजुभाइ लिन नआएका पीडा अभिव्यक्त गरेका हुन्थे । तर पछिल्लो समय यो चलन र गीत हराउँदै गएका छन् ।

तीजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको बेनी नगरपालिका–२ की ७१ वर्षीया गोमादेवी उपाध्यायले बताउनुभयो । पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको उहाँको गुनासो छ ।

उपाध्यायले विगतका दिनमा आफूले तीज पर्वलाई नेपाली संस्कृति र आफ्नै मौलिकपनमा मनाउने गरेको सम्झँदै भन्नुभयो, “म सानो छँदा गाउँघरमा मादलको तालमा सुख दुःख समेटिएका गीत गाउँदै छमछमी नाचेर तीज मनाएको आज पनि झलझली सम्झन्छु । आजभोलि तीजका गीत सुन्दा तीजका हुन् कि रत्यौलीका छुट्टाउनै गाह्रो हुन्छ ।”

विगतका दिनमा गाउँघरमा साथी सहेली, फुपू आमाजू, ठुलीआमा, सानी आमा सबै महिला दिदीबहिनी एकै ठाउँमा जम्मा भई दुःखसुखका गीत गाएर, नाचेर वर्षभरिका पीडा भुल्ने गरेको उपाध्यायले अनुभव सुनाउनुभयो । “आजभोलि त हामीले मनाउने तीज, तीजजस्तो लाग्दैन, उच्छृङ्खल, तडकभडक र देखासिकीको चाडजस्तो लाग्छ”, उहाँले भन्नुभयो ।

दिन प्रतिदिन परम्परागत संस्कार र संस्कृतिअनुसारको मौलिकपन नहुँदा गोमादेवी मात्रै होइन, पुरानो पुस्तादेखि नयाँ पिँढीका महिला पनि चिन्तित छन् । बेनी मङ्गलाघाटकी अमृतदेवी बानियाँले पनि चाडपर्वका नाममा पछिल्लो समय पश्चिमी संस्कार हाबी भएको दाबी गर्नुभयो । महिला अधिकारकर्मी समेत रहनुभएकी बानियाँले भन्नुभयो, “तीज वर्षभरिको दुःखसुख साटासाट गर्ने पर्व भए पनि अहिले पश्चिमी संस्कारले विकृति ल्याएको छ ।” विगतमा झैँ तीज पर्व मनाउने चलन गाउँघरतिर पनि बिस्तारै हराउँदै गइरहेको छ ।

“तीज आउनु एक महिनाअघिदेखि गाउँघरतिर एक ठाउँमा जम्मा भएर मादलको तालमा नाचगान गर्ने चलन थियो । आज एउटाको घर त भोलि अर्को घरमा तीजको नाचगान गरेर मनाउँथे”, फगामीले भन्नुभयो, “अहिले तीजको मौलिकपन हराउँदै गइरहेको छ । तीजमा रमाइलो गरी मनाइने आफ्नै संस्कृति र परम्पराभन्दा टिभीमा आउने गीत र सिरियलप्रति आकर्षित भएका छन् ।”

तीजमा विवाहित महिला राता साडी र रातै चुरामा सजिएर आफ्ना श्रीमानको दीर्घायुको कामना गर्दै त्यस दिन पानी समेत नखाई व्रत बस्ने गर्दछन् भने अविवाहित महिला राम्रो श्रीमान् पाउने आशमा यो पर्व मनाउने गरेको धार्मिक विश्वास रहँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update