Kath khabar
आज तीजको दर खाने दिन

 

                  काठमाडौं, भदौ ३१ ।  आज तीजको दर खाने दिन । दरखाने दिनसँगै तीज पर्व शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा छ । दरका रुपमा विशेष गरी दूधबाट बनेका परिकार खाइन्छ ।

भोलि व्रत बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि आडिलो परिकार खाने चलन छ ।  दर खाँदा आफ्नो स्वास्थ्यको ख्याल गर्न विज्ञले सुझाव दिएका छन् ।

धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार, दरका रुपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकाले  त्यस्ता खानेकुरा सकेसम्म नखान पोषणविद् समीक्षा कार्कीले सुझाव दिनुभएको छ ।

दर खाँदा आफ्नो शरीरमा चाहिने मात्र खान, दरमा विभिन्न परिकारसँगै सलादको मात्रा अनिवार्य खान  र दरसँग जाँडरक्सी नखान उहाँले आग्रह गर्नुभएको छ । तिजमा खाइने दरमा खिर, तरकारी, मिठाइ लगायत सधैँ खाइने परिकार भन्दा चिल्ला, पिरा, गुलिया र मसलेदार खानेकुरा धेरै समावेश गरिएको हुनाले त्यसले अपच तथा ग्यास्ट्रिकको समस्या हुन सक्ने उहाँले बताउनुभयो ।

अझ मधुमेहका बिरामीले यस्ता खानेकुरा खाँदा झनै सावधानी अपनाउनु पर्ने उहाँको भनाइ छ । पहिले मानिसहरुले धेरै परिश्रम गर्ने भएकाले चिल्लो, गुलियो धेरै खाँदा पनि त्यति स्वास्थ्य समस्या नहुने भए पनि  अहिले मानिसहरुले शारीरिक परिश्रम कम गर्दा र त्यस्ता खानेकुरा खाँदा स्वास्थ्यमा समस्या निम्तने गरेको उहाँको भनाइ छ ।

भोलिपल्ट बस्ने व्रतका लागि अघिल्लो दिन आडिलो खानेकुरा खाने निहुँमा त्यसले थप जटिलता नल्याओस् भन्नेमा सतर्कता अपनाउनु पर्ने उहाँको भनाइ छ । 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update