Kath khabar
नायक अनमोल केसीले आफूले लिएको १० लाख रुपैयाँ निर्मातालाई गरे फिर्ता
File Photo

 

                      काठमाडौं, असोज १६  । अभिनेता अनमोल केसीले फिल्म ‘रावायण’का निर्मातालाई आफूले लिएको १० लाख रुपैयाँ फिर्ता गरेका छन् ।

नायक केसीले फिल्म ‘रावयण’ मा काम गर्नका लागि लिएको १० लाख पेश्की रकम सोमबार फिर्ता गरेका हुन् । उनले निर्मात्री कटुवालको सिद्धार्थ बैंकमा रहेको खातामा आज मंगलबार जम्मा हुने गरी १० लाख रुपैयाँको चेक डिपोजिट गरेका हुन् ।

काठमाडौं जिल्ला अदालतले आइतबार केसीलाई हिरासतमा राख्न तीन दिनको अनुमति दिए पनि हिरासत बाहिर बस्दा प्रमाण नष्ट गर्ने सम्भावना नरहेको, भागीजाने सम्भावना नरहेको र अस्पतालले डिस्चार्ज नगरेको भन्दै हाजिर जमानीमा हिरासतमुक्त गरेको थियो ।

प्रहरीको सोधपुछका क्रममा अनमोलले स्क्रिप्ट चित्त नबुझेर प्रोजेक्ट अस्वीकार गरेको तथा आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि निर्माताले लिन अस्वीकार गरेको वयान दिएका थिए । उनले छायांकनको समय केही पछि सार्न पनि  निर्माणपक्षलाई आग्रह गरेको बताएका थिए ।

फिल्म ‘रावायण’को विवादमा निर्मात्री कटुवालले अनमोलविरुद्ध ‘आपराधिक विश्वासघातको कसुर’ मा उजुरी दिएकी थिइन् । सोही उजुरीको आधारमा अनमोललाई प्रहरीले साँगाबाट पक्राउ गरेको थियो ।

 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update