Kath khabar
सडकमा भेटिएका गाईबाच्छालाई आजदेखि काञ्जी हाउसमा राख्दै काठमाडौं महानगर
तस्विर : बालेन्द्र साहको फेसबुक


                         काठमाडौं, कात्तिक २२ । काठमाडौँ महानगरपालिकाले आजदेखि सडकमा भेटिएका गाईबाच्छा संकलन गरेर दक्षिणकाली नगरपालिका वडा नं. ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने भएको छ ।

महानगर प्रमुख बालेन्द्र साहले सामाजिक सञ्जाल मार्फत जानकारी दिदै भनेका छन्, "सडकमा छाडिएका चौपायाले खान पाएका छैनन्, तिर्खा लागेका बेला पानी पाउँदैनन्, विरामी पर्दा उपचार पाउँदैनन् । सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ, उनीहरुलाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौँ" ।  

"काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइसकेका छौँ । हेरचाह गर्नका लागि २ जना स्थानीयलाई दैनिक ज्यालादारीमा लिएका छौँ । दक्षिणकाली नगरपालिकाको वडा नं. ७ सँगको सहकार्यमा पानी, विजुलीलगायत सुविधा प्रबन्ध गर्दैछौँ", उनले जानकारी दिएका छन् ।

काञ्जी हाउस सञ्चालन गर्न २०७८ फागुन ३ गते काठमाडौँ महानगरपालिका र दक्षिणकाली नगरपालिका बिच सम्झौता भएको थियो। छाडा चौपाया व्यवस्थापन गर्न महानगरपालिकाले विभिन्न प्रयास गर्दै आएको थियो । यसमध्ये चौपाया लिलामी एउटा विधि थियो । सडकमा भएका चौपाया जम्मा गरेर आर्थिक वर्ष २०५७/०५८ एक बर्षमा १६० गाईबाच्छा लिलामी गरिएको थियो ।

यस्तै आर्थिक वर्ष २०७०/२०७१ मा ३८८ वटा चौपाया लिलामी गरियो । लिलामी गर्न पुग्ने संख्या बनाउन त्यसबेला टेकु ट्रान्सफर स्टेशन नजिक काञ्जी हाउस सञ्चालन गरिएको थियो । लिलाम गरिएका चौपाया कहाँ लगिन्छन्रु उनीहरु सुरक्षित रहन्छन् तरु प्रश्न आएपछि महानगरपालिकाले लिलाम गर्ने प्रक्रिया रोकेको थियो ।

काञ्जी हाउसमा दैनिक पशु व्यवस्थापन, हेरचाह तथा सरसफाइका लागि महानगरपालिकाले कर्मचारी खटाउनेछ । थप पूर्वाधार निर्माण तथा मर्मत सम्भार, मृत जनावरको व्यवस्थापनलगायत काम महानगरपालिकाले गर्नेछ । पशु सेवालाई दैनिक सञ्चालन गर्न खाद्यान्न, औषधी, उपकरणको प्रबन्ध महानगरले गर्नेछ । यस ठाउँमा १२६ रोपनी जमिन छ । यस ठाउँमा महानगरपालिकाले डाले तथा भुइँ घाँस लगाउन सक्नेछ ।

महानगरपालिका क्षेत्रभित्र गाई पालन गर्ने गोठ र सडकमा भएका चौपायाको संख्या एकिन छैन । समय समयमा सडकमा हुने सवारी दुर्घटनाको कारण छाडा चौपाया भएपछि उनीहरुकै सुरक्षाका लागि पनि निश्चित ठाउँमा राख्नु पर्ने भएको महानगरले जनाएको छ ।

 


 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update