Kath khabar
निर्यात व्यापार घट्यो, तीन महिनामा ४० अर्ब ८७ करोडको सामान विदेश निर्यात


 
                       काठमाडौं, कात्तिक २४ । नेपालको निर्यात व्यापारमा कमी आएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी चालु आर्थिक वर्षको तीन महिनाको प्रतिवेदन अनुसार कुल वस्तु निर्यात दुई दशमलव तीन प्रतिशतले कमी आई ४० अर्ब ८७ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३५ दशमलव सात प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात नौं दशमलव चार प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः तीन सय ४५ दशमलव नौ प्रतिशत र नौ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोड, जुस, अलैंची, पोलिस्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाबिन तेल, जुटका सामान, ऊनी गलैँचा, रोजिन लगायतका वस्तुको निर्यात घटेको प्रतिवेदमा उल्लेख ।  

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा कुल वस्तु आयात एक दशमलव सात प्रतिशतले वृद्धि भई चार खर्ब सात अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६ दशमलव दुई प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र चीनबाट भएको आयात क्रमशः दुई दशमलव चार प्रतिशत र ४२ दशमलव चार प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकतर्फको आयात २२ दशमलव आठ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा तयारी पोशाक, एम. एस. तार, छड, बार तथा क्वाइल, रासायनिक मल, विद्युतीय उपकरण, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, सुन, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०८१ को तीन महिनामा कुल वस्तु व्यापार घाटा दुई दशमलव एक प्रतिशतले वृद्धि भई तीन खर्ब ६६ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १३ दशमलव एक प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात– आयात अनुपात १० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० दशमलव चार प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी ४५ अर्ब ५८ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३४ अर्ब ५९ करोड बराबरको भएको थियो ।

वृहत्त आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५५ दशमलव दुई प्रतिशत र ४४ दशमलव पाँच प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् शुन्य दशमलव तीन प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५७ प्रतिशत, शून्य दशमलव शून्य तीन प्रतिशत र ४३ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५० दशमलव छ प्रतिशत, पुँजीगत वस्तुको आठ दशमलव पाँच प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४० दशमलव नौं प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५३ दशमलव दुई प्रतिशत, आठ दशमलव तीन प्रतिशत र ३८ दशमलव पाँच प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update