Kath khabar
बल्खुमा दुर्गा प्रसाईंका समर्थक र युवा संघबीच झडप

 

                   काठमाडौं, मंसिर ७ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अभियानलाई प्रदर्शनका लागि तोकेको स्थान बल्खु क्षेत्रमा झडप भएको छ ।

युवा संघ र प्रसाईका समर्थकबीच झडप भएको हो । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थकले ढुंगामुढा गरेका छन् ।

प्रहरीले माइकिङ गरेर उनीहरुलाई आ-आफ्नो कार्यक्रम स्थलमा जान निर्देशन दिएको छ । अहिले प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको छ । प्रशासनले प्रसाईंलाई बल्खु चोक र युवा संघको लागि तीनकुनेमा प्रदर्शनका लागि स्थान तोकेको छ ।

प्रसाई समर्थकले काठमाडौँको बल्खुमा र युवा संघले कोटेश्वर तीनकुनेबाट प्रदर्शन गर्ने तयारी छ। प्रदर्शनकारीहरू विभिन्न चोकबाट प्रदर्शनस्थल तर्फ नाराबाजी गर्दै अगाडि बढेका छन् । दुर्गा प्रसाईंको प्रदर्शनस्थल बल्खु वरपर चहलपहल सुरू हुँदैछ । विभिन्न स्थानहरुबाट प्रदर्शनकारीहरु जम्मा हुन थालेका छन् ।

राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईँको आह्वानमा हुन लागेको प्रदर्शनमा दुवैपक्षको झडपको स्थिति हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । बल्खु र तीनकुनेमा हुन लागेको छुट्टाछुट्टै प्रदर्शनको सुरक्षाको लागि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी खटिएका छन् ।

काठमाडौं उपत्यका भित्रिने नाकामा सुरक्षा जाँच भइरहेको छ । ट्राफिक प्रहरीको समेत सहभागितामा नाकाबाट प्रवेश गर्ने हरेक गाडीमा निगरानी र सोधपुछ भइरहेको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update