Kath khabar
काठमाडौं प्रशासनले भन्यो - दुर्गा प्रसाईँलाई तीनकुनेमा प्रदर्शन गर्ने अनुमति छैन


                  काठमाडौं, मंसिर ८  । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई तीनकुनेमा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति नदिने भएको छ।

प्रसाईंको समूहले कुनै समन्वयन नगरी तिनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेको सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले प्रेस विज्ञप्ति जारी गर्दै बताएका छन् ।

"राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान , नेपालले कार्यक्रम समापनका क्रममा र पत्रकार सम्मेलनमार्फत उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै स्थानीय प्रशासनसँग कुनै समन्वय नगरी भोलिदेखि काठमाडौंको तीनकुने क्षेत्रमा मेलाजम्मा भई निषेधित क्षेत्रतर्फ प्रवेश गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने र शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेकोमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । यसरी गलत मनसायका साथ कार्यक्रम गर्नका लागि स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान गरिएको छैन", विज्ञप्तिमा भनिएको छ ।

प्रशासनले नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा बिना हातहतियार शान्तिपूर्वक भेला हुने संविधान तथा प्रचलित कानुन प्रदत्त अधिकारको उपभोग र सोको सम्मान गर्न स्थानीय प्रशासन प्रतिबद्ध भएको तथा सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित , अनुशासित एवं व्यवस्थित रुपमा सञ्चालन गर्ने सुनिश्चितता सहिन लिखित रूपमा माग भई आएमा आयोजकसँगको समन्वयमा उपयुक्त स्थानमा कार्यक्रमस्थल उपलब्ध गराई सुरक्षा प्रदान गरिने गरेको र आगामी दिनमा पनि सोही बमोजिम हुने व्यहोरा अवगत गराइएको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिकता बचाउ अभियानसहित यूवालाई सडकमा उतारेका प्रसाईंले प्रदर्शन पश्चात पत्रकारसम्मेलन गरी शुक्रवारबाट तीनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेका थिए ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update