Kath khabar
हिमालय एयरलाइन्सद्वारा काठमाडौं-चोङकिङ-काठमाडौं उडान सेवा पुनः सुचारु


                      काठमाडौं, मंसिर २६ । नेपाल-चीन संयुक्त लगानी भएको हिमालय एयरलाइन्सले डिसेम्बर १२, २०२३ मा लामो समयदेखि प्रतीक्षारत काठमाडौं-चोङकिङ-काठमाडौं उडान सेवा पुनः सुचारु गरेको छ । यो सेवा बिस्तारलाई एयरलाइन्सले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवर्द्धन गर्ने प्रतिबद्धताका रुपमा लिएको छ ।

यस काठमाडौं-चोङकिङ-काठमाडौं रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको व्यस्त सहरको बीचमा सहज यात्राको विकल्प प्रदान गर्नेछ । दुई सहरका बीच हुने प्रत्यक्ष सम्पर्कले सहज, सुरक्षित एवम् प्रभावकारी यात्रा प्रदान गर्ने हिमालय एयरलाइन्सको प्रतिबद्धतालाई समेत प्रतिबिम्बित गरेको छ ।

समृद्ध सांस्कृतिक सम्पदा, आधुनिक सहरी परिदृश्य र आर्थिक गतिशीलताका लागि प्रसिद्ध चोङकिङले ऐतिहासिक, विशिष्ट विविध पाककला एवम् उच्च प्रविधि विकासयुक्त ठाउँको अनुपम सम्मिश्रण समेत प्रदान गर्दै नेपाली यात्रुहरूमाझ आकर्षक गन्तव्यको आफूलाई प्रस्तुत गरेको छ ।

पहिलो आउटबाउन्ड उडान, एच ९ ७८७, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान १०ः०७ मा प्रस्थान गरेको थियो र चोङ्किङ्को जियाङ्गबेइ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझको १५ः५० बजे अवतरण गर्ने छ । यस उडानको अवधि ३ घण्टा १४ मिनेटको रहनेछ । पहिलो उडानमा कूल यात्रु संख्या एक सय पच्चीस रहेको थियो । चोङकिङबाट त्यहाँको स्थानीय समयअनुसार अपराह्नको ४ः२५ बजे काठमाडौंका लागि  फिर्ती उडान छुट्नेछ र काठमाडौंमा साँझको ६ः३५ मा अवतरण हुनेछ ।

डिसेम्बर १२ पश्चात् एयरलाइन्सले हरेक मंगलबार र शनिबार गरी हप्तामा दुई पटक यी दुई सहरहरूका बीचमा उडान सेवा सञ्चालन गर्ने छ । यस उडान सेवासँगै नेपाल र चीनबीच हिमालय एयरलाइन्सको यो चौथो सिधा उडान सेवा हुनेछ ।  एयरलाइन्सले यस अघि नै बेइजिङ, छिन्ताओ र सांघाईमा नियमित रूपमा उडान सेवा सञ्चालन गर्दै आएको छ ।

यस रुटको पुनः सुरुवातले नेटवर्क बिस्तार तथा यात्रुहरूको चाहनाअनुरुप नै प्रत्यक्ष, भरपर्दो र आरामदायी हवाई यात्रा अनुभव प्रदान गर्ने लक्ष्यलाई प्रगाढ रुपमा अगाडि बढाउने हिमालय एयरलाइन्सको प्रतिबद्धतालाई अझ बढी प्रष्टयाएको छ । आफ्नो नेटवर्कमा थपिएको यो रुटसँगै  हिमालय एयरलाइन्सले नेपाल र चीनबीच व्यावसायिक अवसर, पर्यटन र सांस्कृतिक अन्तरक्रियालाई सहजीकरण गर्ने लक्ष्य राख्दै द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ तुल्याउन योगदान पु¥याउने अपेक्षा गरेको छ  ।

यस नयाँ रुटको सुरुवातसँगै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै अविस्मरणीय यात्रा अनुभवहरू प्रदान गर्ने लक्ष्य लिएको छ । हाम्रो यस उडानमा यात्रुहरूलाई स्वागत गर्न सदैव तत्पर छौँ र यो उडान हाम्रा समस्त यात्रुहरूलाई नेपाल र चीन दुवै देशका विविध सौन्दर्य तथा अवसरको अन्वेषणमा सहायकसिद्ध हुने अपेक्षा राख्दछौँ । यात्रुहरूले हिमालय एयरलाइन्सको टिकटिङ काउन्टर, आधिकारिक ट्राभल पार्टनरहरू र एयरलाइन्सको आधिकारिक वेबसाइटबाट काठमाडौं-चोङकिङ-काठमाडौं उडानको टिकट बुक गर्न सक्ने छन् ।

हिमालय एयरलाइन्स प्रा.लि.को बारेमा
हिमालय एयरलाइन्स नेपाल-चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो, जसको स्थापना सन् २०१४ मा भएको थियो । नेपाल र अन्य देशहरूबीच जनस्तरको सम्पर्कलाई बढावा दिनुका साथै नेपालको व्यापार र पर्यटन उद्योगलाई टेवा पुर्‍याउनु नै यस एयरलाइन्सका मुख्य दुई उद्देश्यहरू हुन् । हिमालय एयरलाइन्स, तिब्बती नागरिक उड्डयन विकास तथा लगानी कम्पनी लिमिटेड र यती वल्र्ड इन्भेस्टमेन्ट प्रा. लि. बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित विमान कम्पनी हो ।

हिमालय एयरलाइन्ससँग हाल ४ वटा विमानहरू छन्, तीन एयरबस ३२०-२१४ (१८० मितव्ययी सिटहरू) र एक एयरबस ३१९-११५ (१४४ मितव्ययी सिटहरू रहेका छन् । हिमालय एयरलाइन्सले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू - संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ ।

एयरलाइन्सले साउथ एसियन ट्राभल अवार्डस २०१७ मा आफ्नो सञ्चालनको पहिलो वर्षमै दक्षिण एशियामा अग्रणी नयाँ अन्तर्राष्ट्रिय एयरलाइन्सका रूपमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो । सन् २०२० मा यसले आफ्ना स्तरीय प्राविधिक व्यवस्थापनका लागि पहिलोपटक आईएसओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गरेको थियो । विमान मर्मत र इन्जिनियरिङ् सेवाहरूमा पुर्‍याएको उच्च व्यवस्थापन र क्षमताप्रति उक्त प्रमाणिकरण प्राप्त गरेको हो । डिसेम्बर २९, २०२१ मा एयरलाइन्स अर्को महत्वपूर्ण आईएसओ ९००१ः२०१५ प्राप्त गर्ने नेपालको पहिलो एयरलाइन्स बन्यो । हवाई उडानसम्बन्धी प्रशिक्षण सेवाहरू सहित यात्रुहरू र कार्गो सेवाका लागि उच्च स्तरीय सेवा प्रदान गरे बापत उक्त  प्रमाणीकरण प्राप्त भएको हो । सो प्रमाणीकरणले एयरलाइन्सको गुणस्तरप्रतिको प्रतिबद्धता र उच्च कार्यसम्पादन तथा अभ्यासप्रतिको समर्पणलाई उजागर गर्दछ ।

सन् २०२१ को सेप्टेम्बरदेखि एयरलाइन्सले आफ्ना जहाजहरूमा अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर्स जडान गरेको थियो । योसँगै एयरलाइन्स जडान गर्ने नेपालकै पहिलो र एक मात्र नेपाली वायुसेवा कम्पनी बनेको छ । हवाइ सुरक्षामा उत्कृष्टता हासिल गर्ने उद्देश्यका साथ अन टाइम पर्फमेन्स र मुख्यतः आफ्ना ग्राहकहरुको सेवामा एयरलाइन्सले आफूलाई पहिलो छनौटको भरपर्दो एयरलाइन्सको रुपमा स्थापित गरेको छ र दक्षिण एशियाकै अग्रणी एयरलाइन्सका रूपमा प्रतिस्थापित हुन चाहेको छ ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update