Kath khabar
कुल वस्तु निर्यातमा सात प्रतिशतले कमी, चार महिनामा ५० अर्ब ५७ करोडको वस्तु निर्यात



                         काठमाडौं, मंसिर २८ । कुल वस्तु निर्यातमा कमी आएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी चालु आर्थिक वर्षको पछिल्लो चार महिनाको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ को चार महिनामा कुल वस्तु निर्यात सात दशमलव सात प्रतिशतले कमी आई ५० अर्ब ५७ करोड कायम भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३३ दशमलव तीन प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात १४ दशमलव पाँच प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः तीन सय सात दशमलव नौ प्रतिशत र चार दशमलव प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पोलिस्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाबिन तेल, चिया, ऊनी गलैँचा, रोजिन लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०८०/८१ को चार महिनामा कुल वस्तु आयात तीन दशमलव आठ प्रतिशतले कमी आई पाँच खर्ब १२ अर्ब ५० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १८ दशमलव एक प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः दुई दशमलव पाँच प्रतिशत र २७ दशमलव सात प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४ दशमलव चार प्रतिशतले बढेको छ । वस्तुगत आधारमा तयारी पोशाक, एम.एस. तार, छड, बार तथा क्वायल, विद्युतीय उपकरण, लत्ताकपडा, हवाईजहाजका स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाबिन तेल, सुन, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, रसुवा, तातोपानी तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

आर्थिक वर्ष २०८०/८१ को चार महिनामा कुल वस्तु व्यापार घाटा तीन दशमलव तीन प्रतिशतले कमी आई चार खर्ब ६१ अर्ब ९४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५ दशमलव नौं प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात नौं दशमलव नौं प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० दशमलव तीन प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी ५३ अर्ब ८४ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४२ अर्ब ६९ करोड बराबरको भएको थियो ।

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update