Kath khabar
आज राष्ट्रिय पोशाक तथा टोपी दिवस

 

                     काठमाडौं, पुस १६ । आज राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदैछ । नेपाली टोपी र पोशाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रूपमा ईस्वी संवतको पहिलो दिन नयाँ वर्षको दिन पारेर यो दिवस मनाउन थालिएको हो । नयाँ वर्षसँगै नेपाल र विश्वका विभिन्न स्थानमा रहेका नेपालीले हर्षोल्लासका साथ अन्तर्राष्ट्रिय टोपी दिवस मनाउँदै छन् ।

नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रूपमा लिने गरिन्छ । तर विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन् । यो दिन नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धूमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन् । 

जागरुक युवा अभियान नेपालले विगत नौ वर्षदेखि पुस १७ गते यो दिवस मनाउने अभियानको नेतृत्व गर्दै आएको छ । नोभेम्बर २६, २०१३ मा सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक पेज स्थापना गरी पहिलो पटक जनवरी १ लाई अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस र नेपाली टोपी लगाउने दिन घोषणा गरियो । अंग्रेजी क्यालेन्डर अनुसार जनवरी १, २०१४ देखि नेपालमा अन्तर्राष्ट्रिय टोपी (टोपी) दिवस मनाउन थालिएको हो ।

यस अभियानका सामाजिक सञ्जाल संस्थापक डा लेखनाथ काफ्ले ताइवान र शंकर बन्जाडे हुन् । ‘नेपाली टोपी, नेपाली स्वाभिमान, मर्यादा र पहिचान’ भन्ने नाराका साथ हरेक वर्ष जनवरी १ मा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइन्छ । यसो गर्दा नेपालीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्नुका साथै देशभित्र आफ्नो संस्कृतिको प्रवद्र्धन र प्रचार प्रसार गर्न सहयोग पुग्ने अभियानकर्ताहरुको विश्वास छ ।

तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईको नेतृत्वको सरकारले २०६८ सालमा नेपाली राष्ट्रिय पोशाक औपचारिक रुपमा हटाएपछि सम्मानका साथ फिर्ता गर्न सरकारलाई दबाब दिन पनि टोपी दिवस मनाउन थालिएको हो ।

टोपीले हाम्रो राष्ट्रिय पहिचान मात्र नभई पारिस्थितिकीय महत्वलाई पनि जनाउँछ। टोपी प्रायः दौरा सुरुवालसँग लगाइन्छ। यसले नेपाली जातिको पहिचान झल्काउँछ । पाल्पाली टोपी देशकै उत्कृष्ट टोपी मानिन्छ । टोपीले हाम्रो राष्ट्रिय पहिचान मात्र नभई पारिस्थितिकीय महत्वलाई पनि जनाउँछ।

नेवारीमा काँचो धागोलाई कचिका भनिन्छ । कपाल काट्दा महिलाले लगाउने धागोलाई साचिका भनिन्छ। म्हपूजा र भाइटीकामा लगाइने एक प्रकारको काँचो धागोको मालालाई जजन्का भनिन्छ। त्यसैगरी कपडाको टोपी बुन्ने विशेष प्रकारको धागोलाई ढाका भनिन्छ। ढाकाबाट बुनेको टोपीलाई ढाका भनिन्छ र डोटेली भाषामा (खस भाषा) घरमा परम्परागत रूपमा बनाइने धागोलाई ढाका भनिन्छ। सुरुमा यसलाई टोपी मात्र भनिन्थ्यो, तर पछि यो झन् लोकप्रिय भयो । आजकल, यसलाई "ढाका टोपी" भनिन्छ।

 

 

 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update