Kath khabar
कान्तिपुर विरुद्ध रवि लामिछानेले हाले गाली बेइज्जतिको मुद्दा

                       

                     काठमाडौं, पुस १७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले कान्तिपुर पब्लिकेसन प्रालि विरुद्ध गाली बेइज्जतिको मुद्दा दर्ता गरेका छन् । मंगलबार अधिवक्ता अफताब आलमलाई वारेस राखेर लामिछानेले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।

१५१ रुपैयाँ क्षतिपूर्ति मागदाबी गर्दै पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहिया, कान्तिपुर पब्लिकेसन, प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहान, ई-कान्तिपुर डटकम र कान्तिपुर दैनिक पत्रिकालाई प्रतिवादी बनाइएको छ।

मुद्दा दर्तापछि उनले सामाजिक सञ्जालमा उनले सामाजिक सञ्जालमा लेखेका छन् -

"नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गर्दै भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु ।

एउटा  योद्धा  लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन। हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ। म आरोप लाग्नै नहुने मान्छे होइन। तर म समाचारमा आएका कुनै सहकारीको संचालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन। मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन। मेरो नाम राखिएरदेखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु। म लोकतन्त्रको बलियो आधारमध्य एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु। सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्य सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन। यो मेरो वचन भो।"


 

 

 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update