Kath khabar
हिमालय एयरलाइन्सको काठमाडौं–ल्हासा उडान सेवा सुरु

                       

                    काठमाडौं, पुस १८ । हिमालय एयरलाइन्सले काठमाडौं-ल्हासा-काठमाडौं उडान सेवा सुरु गरेको छ । एयरलाइन्सले हरेक सोमबार यी दुई सहरहरूका बीचमा उडान सेवा सञ्चालन गर्ने जनाएको छ ।

एयरलाइन्सले यो सेवा बिस्तारलाई नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवर्द्धन गर्ने प्रतिबद्धताका रुपमा लिएको छ । नयाँ काठमाडौं-ल्हासा -काठमाडौं रुटले यात्रुहरूलाई नेपालको जीवन्त राजधानी सहर काठमाडौं र ऐतिहासिक रूपले समृद्ध एवम् रमणीय सहर ल्हासाका बीचमा सहज यात्राको विकल्प प्रदान गर्ने बताईएको छ ।

कम्पनीको पहिलो आउटबाउन्ड उडान, एच९ ७७४ गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १३६ जना यात्रु लिएर बिहान ८ः४० बजे ल्हासा प्रस्थान गरेको थियो । सो विमान ल्हासा गोङ्गार विमानस्थलमा स्थानीय समय अनुसार बिहानकोे १२ः०० बजे अवतरण गरि १ घण्टा २० मिनेटमा यात्रा पुरा गरेको थियो ।

यस उडान सेवासँगै नेपाल र चीनबीच हिमालय एयरलाइन्सको यो पाँचौँ सिधा उडान सेवा हुनेछ ।  एयरलाइन्सले यसअघि नै बेइजिङ, चोङकिङ, छिन्ताओ र साङ्घाईमा नियमित रूपमा उडान सेवा सञ्चालन गर्दै आएको छ । कम्पनीको सेवा उद्घाटन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, सुदन किराँतीले हिमालय एयरलाइन्सको काठमाडौं-ल्हासा–काठमाडौं उडानले नेपाल र चीन बीचको यातायात नेटवर्कमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

यस्तै चिनियाँ दूतावासका उपप्रमुख वाङ जिनले नयाँ सुरु गरिएको यो रुटले नेपाल र चीनलाई जोड्ने यातायात सञ्जालमा महत्वपूर्ण प्रगतिको रूपमा प्रतिनिधित्व गरेको बताए । यस रुटले अरनिको राजमार्गले जोडेको विद्यमान नेपाल–चीन कनेक्टिभिटीलाई अझ व्यापक रूपमा बिस्तार गर्ने उल्लेख गरे । यातायात पूर्वाधारमा भएको यो बिस्तारले नेपाल र चीनबीचको व्यापार, पर्यटन र समग्र द्विपक्षीय सम्बन्धका लागि फराकिलो र थप विविध नेटवर्कमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाई थियो ।

हिमालय एयरलाइन्सका प्रवक्ता समेत रहेका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले हिमालयको मुख्य उद्देश्य चीनका १० वटा विभिन्न पर्यटकीय गन्तव्यमा उडान सञ्चालन गरी १० लाख पर्यटकलाई नेपालमा स्वागत गर्नु रहेको बताए । हिमालयले नेपालबाट चीनका लागि नयाँ–नयाँ रुटहरू पहिल्याउँदै उडान सेवा प्रदान गर्दै आएको छ । यस अर्थमा नयाँ बजार बिस्तार तथा स्थापित गर्न कम्पनीको योगदान उल्लेखनीय रहेको उनको भनाई छ ।

यस नयाँ रुटको सुरुवातसँगै हिमालयले उच्चतम् सुरक्षा मापदण्ड कायम गर्दै अविस्मरणीय यात्रा अनुभवहरू प्रदान गर्ने लक्ष्य लिएको छ । 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update