Kath khabar
एकै दिन ३१ अंकले बढ्यो नेप्से



                 काठमाडौं, पुस २९ । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से उच्च अंकले बढेको छ । नेप्से आज ३१ दशमलव ६२ अंकले बढेर २१ सय २० दशमलव ६२ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ चार दशमलव शून्य दुई अंकले बढेर तीन सय ८८ दशमलव १७ अंकमा पुग्न सफल भएको छ ।

नेप्सेमा आज तीन सय १४ वटा कम्पनीहरुको ९४ हजार पाँच सय २६ पटकको कारोबारमा एक करोड ६६ लाख पाँच हजार दुई सय ३४ कित्ता सेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम पाँच अर्ब ४५ करोड चार लाख २१ हजार आठ सय छ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये होटल तथा पर्यटन र ट्रेडिङ समुहको घटेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समुहको सूचक बढेर हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज हिमालयन पावर पार्टनर लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ कम्पनी आदिको सेयर मूल्य बढेका छन् भने मेगा म्युचुअल फण्ड १, मुलुङ हाइड्रोपावर लिमिटेड, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य घटेका छन् ।

नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, न्यादी ग्रुप पावर लिमिटेड आदिको भने आज बढी रकम कारोबार भएका छन् ।

 

 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update