Kath khabar
कैलाश हेलिकप्टर सर्भिसेजले सर्वसाधारणमा शेयर जारी गर्ने

 
                      काठमाडौं, माघ ३ । कैलाश हेलिकप्टर सर्भिसेस लिमिटेडले आफ्नो जारी पूँजी ३५ करोड रुपैयाँको १० प्रतिशत अर्थात एक सय रुपैंयाँ अंकित दरको तीन करोड ५० लाख रुपैयाँ बराबरको तीन लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणहरूमा जारी गर्नको लागि मुक्तिनाथ क्यापिटल लि., नारायणचौर, नक्साल, काठमाडौंलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

बुधबार आयोजित एक कार्यक्रममा कैलाश हेलिकप्टरको तर्फबाट प्रबन्ध संचालक प्रताप जङ्ग पाण्डे तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । तीन करोड ५० लाख शेयर पूँजी बराबरको एक सय अंकित दरको तीन लाख ५० हजार कित्ता साधारण शेयर प्रचलित कानूनको अधीनमा रही सर्वसाधारणहरुलाई प्रिमियम मूल्यमा जारी गर्ने कम्पनीले जनाएको छ ।

सन् २०१८ मार्च २३ बाट संचालनमा आएको यस कम्पनीले एयर बस कम्पनी फ्रान्सद्धारा निर्मित ए.एस ३५० को तीन वटा हेलिकप्टर मार्फत उच्चस्तरीय विविध सुविधा प्रदान गर्दै आएको छ । संचालनमा आएको पहिलो वर्षदेखि निरन्तर नाफामा रहेको यस कम्पनीले कोभिड १९ माहामारीको समय आ.व.०७६/२०७७ बाहेकको हरेक वर्ष आफ्नो लगानीकर्तालाई प्रतिफल दिदै आएको छ ।

कम्पनीले आ.व.२०७९/२०८० को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई पाँच प्रतिशत बोनस शेयर र १० प्रतिशतका दरले नगद लाभांश वितरण गरेको छ। उक्त बोनस शेयर पश्चात कम्पनीको चुक्ता पूँजी ३१ करोड ५० लाख रुपैंयाँ रहेको छ । यस कम्पनीको बोनस वितरण पश्चात किताबी मूल्य एक सय ४६ रुपैंयाँ २९ पैसा कायम रहेको कम्पनीले जनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले हाल संचालित हेलिकप्टर कम्पनीहरुले पाँच वर्ष भित्र पाँच थान हेलिकप्टर पुर्याउनु पर्ने भनी जारी गरिएको नीतिलाई अनुसरण गर्दै पूँजी वृद्धि गरी सुरक्षा नीतिको पूर्ण पालना गरी सन् २०२५ मा एक थान र सन् २०२७ मा एक थान गरी थप दुई थान हेलिकप्टर सन् २०२७ सम्ममा थप गरी कुल पाँच वटा हेलिकप्टर संचालनमा ल्याउने कम्पनीको योजना रहेको छ ।

 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update