Kath khabar
द क्लिफको सेटअपमा भारतको केरलामा नयाँ बञ्जी सहितको एड्भेन्चर पार्क सञ्चालनमा



                     काठमाडौं, माघ ११ । बाग्लुङ-कुश्मालाई एड्भेन्चर हवको रुपमा स्थापित गरेको द क्लिफ नेपालको सेटअपमा भारतको केरलामा नयाँ बञ्जी सहितको एड्भेन्चर पार्क सञ्चालनमा आएको छ । यो सँगै क्लिफ अन्तराष्ट्रिय स्तरमा पहिलोपटक बन्जीको सेटअप तथा व्यवस्थापनमा संलग्न भएको छ ।

क्लिफका अध्यक्ष कार्की, बञ्जी क्रू प्रशिक्षक प्रकाश प्रधान सहितको प्राविधिक टोली सो परियोजनामा संलग्न रहेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए । प्रधान पहिलो नेपाली बञ्जी मास्टर समेत हुन् । केरालामा वाया नाडा कम्पनीले निर्माण गरेको बञ्जीजम्प तथा अन्य साहसिक गतिविधि स्काईवाक, स्विङ (पिङ), सुपरम्यान स्विङको सेटअप गर्नुका साथै प्राविधिक जनशक्ति द क्लिफमा उपलब्ध गराउने कार्कीको भनाइ छ ।

'सो एक्टिभिटीजहरूको सेटअप र अपरेशन हामीले हेर्नेगरी सहमति भएको छ,’ अध्यक्ष कार्कीले भने । बञ्जीको सञ्चालनका लागि प्रशिक्षक तहका कर्मचारीहरू समेत भएकाले क्लिफसँग सहकार्य भएको बताइएको छ । भारतीय रुपैयाँ करिब ४० करोड लगानीमा निर्माण भएको बञ्जी सहितको एड्भेन्चर पार्कमा रहेकी बञ्जी पहिलो चरणमा क्रेनबाट सञ्चालन हुने बताइएको छ ।  ८० मिटर उचाइ रहेको यस बञ्जीको नाम क्रेन बञ्जी राखिएको छ ।

पछि अर्को संरचना तयार गरी बञ्जी सञ्चालनमा आउनेछ। दोस्रो चरणमा सञ्चालनमा आउने बन्जीको उचाइ १६० मिटरको हुनेछ। सो निर्माणधीन बञ्जी सम्पन्न हुँदा भारतको सबैभन्दा अग्लो बञ्जी हुने अध्यक्ष कार्की बताउँछन् । यससँगै केरलाका अन्य तीन ठाउँमा पनि बञ्जी सञ्चालन गर्ने क्लिफको तयारी छ ।

मुक्तिनाथ दर्शनका लागि केरलाबाट आउने तीर्थयात्रीले पर्वत र बाग्लुङ सीमामा  द क्लिफद्वारा सञ्चालित बञ्जी देखेपछि त्यहाँका व्यवसायीले चासो राखेका थिए। आफ्नो क्षेत्रमा पनि बञ्जी सञ्चालन गर्न सकिने विषयमा त्यहाँका व्यवसायीले चासो राखेपछि क्लिफको टिम केरलामा सम्भाव्यता अध्ययनका लागि गएको थियो ।

‘द क्लिफलाई नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय रुपमा फैलाउने तयारी गरिरहेका बेला भारतीय लगानीकर्ताले राखेको प्रस्ताव स्वीकारेका हौं,’ अध्यक्ष कार्कीले भने, ‘भारतमा हाम्रो उपस्थिति मुलुककै लागि गर्वको विषय हो ।’

 

 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update