Kath khabar
लक्ष्यअनुसार राजश्व उठ्न सकेन - अर्थमन्त्री महत

 

                       काठमाडौं, माघ १२ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसकेको बताएका छन् ।

शुक्रवार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । अर्थमन्त्री महतले राजस्वको दृष्टिकोणबाट सरकार धेरै दबाबमा रहेको बताए । राजश्व केही वृद्धि भए पनि लक्ष्यअनुसार उठ्न नसकेको उनको भनाइ छ ।

मन्त्री महतले राजश्व संरचनामा परिवर्तनका कारण र लक्ष्यअनुसार उठ्न नसकेको बताए । उनले व्यवसायलाई अनलाइन प्रणालीमा ढाल्न नसके सबै किसिमका व्यवसायलाई हेर्न नसकिने बताए ।  ‘धेरै व्यवसाय डिजिटलबेस भएको छ। हामीले पनि आफ्नो शैलीलाई, तौरतरिकालाई त्यही अनुसार नढाल्ने हो भने त्यसलाई क्याप्चर गर्न सक्दैनौँ । त्यसबाट प्राप्त हुने जुन राजस्व छ, त्यो लिन हामी सक्दैनौँ, यसमा आन्तरिक राजस्व कार्यालय अझ अगाडि बढ्नुपर्ने अवस्था छ।’ उनले भने ।

विद्युतीय सवारीसाधनहरुको आयात इन्धनमुखी सवारीको भन्दा दोब्बर बढी भएकाले पनि भन्सार राजश्व कम उठेको पनि उनले बताए । इन्धनमुखी सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको भन्सार न्युन राखेकाले पछिल्लो आँकडामा ३४–३५ अर्ब कम भन्सार राजश्व उठेको उनको भनाइ छ ।

आन्तरिक राजश्व कार्यालय र भन्सार कार्यालयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान तथा अनलाइन प्रणालीलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न जरुरी रहेको मन्त्री महतले बताए ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update