Kath khabar
चाँगुनारायण फास्ट ट्रयाकको लागि बागमती प्रदेशको २० करोडको श्रोत सुनिश्चितता


                         भक्तपुर, माघ १३ । बागमती प्रदेश सरकारले चाँगुनारायण फास्ट ट्रयाकका लागि २० करोड रुपैयाँ बजेटको श्रोत सुनिश्चित गरेको छ । चाँगुनारायण नगरपालिकाको १ वडा देखि ९ वडा ४ र ६ बाहेक जोड्ने उक्त मार्गका लागि दोस्रो चरणको कामका लागि बागमती प्रदेश सरकारबाट बहुवर्षीय योजना पारित गर्दै २० करोडको श्रोत सुनिश्चितता गरेको हो ।

बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ ,मुख्यमन्त्री शालिकराम जमरकट्टेल प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकाल र चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीको पहलमा उक्त श्रोत सुनिश्चित भएको हो । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले चाँगुनारायण फास्ट ट्रयाकलाई २० करोड श्रोत सुनिश्चित गरी पढाएको प्रस्तावलाई आर्थिक मामिला तथा योजना मन्त्रालयले स्वीकृति दिएको छ ।

चाँगुनारायण फास्ट ट्रयाकलाई पहिलो प्राथमिकता पी वान  सडकका रूपमा बहु वर्षीय परियोजनाको रूपमा अगाडि बढाउन रु २० करोडको श्रोत सुनिश्चितता गरिएको बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँले चाँगुनारायण नगर क्षेत्रको गौरवको योजनाका रूपमा रहेको उक्त योजना कार्यान्वयनमा बागमती प्रदेशका मुख्य मन्त्री, भौतिक योजना मन्त्री तथा आर्थिक मामिला मन्त्रीले पुर्याउनुभएको योगदानका लागि धन्यवाद समेत दिनुभयो ।

उक्त सडकको पहिलो चरणमा वडा नम्बर ९ देखि ८ सम्मको ८० प्रतिशत सडक कालोपत्रे भई सकेको छ भने वडा नम्बर ८ को केही भाग देखि अन्य क्षेत्रमा आगामी बजेटमा काम हुने छ ।

चाँगुनारायण १ को सरस्वती खेल देखि वडा नम्बर ९ को ताथली सम्म करिब १९ किमि लम्बाई हुने यो फास्ट ट्रयाक ४ र ६ बाहेक चाँगुनारायणको सबै वडामा पुग्नेछ भने यसले ४ र ६ का शाखा बाटो पनि छुनेछ र चाँगुनारायणको सबै वडालाई एक आपसमा जोड्ने छ । यसले काठमाडौँसँग चाँगुनारायणको दूरी पनि घटाउने छ ।

यो सडक भौतिक सुविधाको दृष्टिले मात्र नभई कृषि उत्पादनको बजारीकरण र पर्यटन प्रवर्द्धनमा समेत कोशेढुंगा साबित हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update