Kath khabar
फागुन ५ देखि ललितपुरमा प्रथम महालक्ष्मी महोत्सव हुँदै


                 ललितपुर, फागुन २ । ललितपुरको महालक्ष्मी नगरपालिकाले 'महालक्ष्मी महोत्सव २०८०' आयोजना गर्ने भएको छ ।

'महालक्ष्मी नगरको समृद्धिको आधार: शिक्षा, संस्कृति, उद्योग, पर्यटन र व्यापार' भन्ने मूल नाराका साथ महालक्ष्मी नगरपालिकाले फागुन ५ देखि ७ गतेसम्म महालक्ष्मी महोत्सव आयोजना गर्न लागेको हो ।

नगरको शैक्षिक, धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थलको प्रचार प्रसार गरी आन्तरिक तथा वाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको नगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । नगरपालिकाको विभिन्न क्षेत्रहरू खासगरी बोझेपोखरी, सिद्धिपुर, लुभु, लाँकुरी भञ्ज्याङ लगायतका क्षेत्रसहित १० ओटै वडालाई समेटेर एकीकृत महालक्ष्मी महोत्सव आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।  

कार्यक्रमको उद्घाटन आगामी फागुन ५ गते वडा नं ८ लुभु लाछीटोलस्थित महालक्ष्मी मन्दिर परिसरमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमामा नेपाल सरकारका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले गर्ने कार्यक्रम रहेको नगरप्रमुख हरिगोबिन्द श्रेष्ठले बताउनुभयो।

महोत्सव समापनको दिन ७ गते महालक्ष्मी १० को पर्यटकीय क्षेत्र लाँकुरीभञ्ज्याङ पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा मनमोहन टावर तथा गणेशमान पार्क, मानेदोभान, तामाङ गुम्बाहरूको अवलोकन तथा दृश्यावलोकनको कार्यक्रम रहेको श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवका लागि नगरपालिकाले ५० लाखको बजेट व्यवस्थापन गरेको छ ।

महोत्सवमा सांस्कृतिक ऐतिहासिक सम्पदाहरुको प्रदर्शन स्थलगत अवलोकन, विविध सांस्कृतिक कार्यक्रम सहित नृत्य, प्रहसन हास्य व्यङ्ग्यसहित नेवारी बाजाहरूको प्रस्तुती रहनेछन् । विशेष गरी नेवारी तथा तामाङ्ग संस्कृति सहित फुड फेस्टिभल, खेलकुद, र्याली, झाकी, मार्चपास, साइकल र्यालीसहित बोझेपोखरीमा डुंगा सयर जस्ता मनोरञ्जनात्मक प्रस्तुतिहरू रहने छन् ।

यस्तै स्थानीय घरेलु उद्योगको उत्पादन, कृषि उत्पादन, शैक्षिक सामग्रीहरू लगायत विभिन्न सामग्रीको प्रदर्शन तथा राष्ट्रिय स्तरका विशिष्ट अतिथिहरूको आगमन, अवलोकन र सम्बोधन कार्यक्रम अवधिका मुख्य आकर्षण रहेका छन् ।

 

 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update