Kath khabar
एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपाल ए पराजित


                    काठमाडौं, फागुन १० । एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए क्यानडा–११ सँग चार विकेटले पराजित भएको छ । जितसँगै तीन खेलको उक्त शृङ्खला क्यानडा–११ ले २–१ ले जित्यो ।

पहिलो खेलमा क्यानडाले नेपाललाई चार विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपालले क्यानडामाथि दुई विकेटको जित हासिल गरेको थियो ।

आज जितका लागि एक सय ८२ रनको लक्ष्य क्यानडा–११ ले २८ दशमलव पाँच ओभरमा छ विकेटको क्षतिमा पूरा गर्यो ।  क्यानडा–११ को जितमा निकोलस किर्तोनले ७७ बल खेल्दै छ चौकाको मद्दतमा सर्वाधिक ५८ रनको योगदान गरे ।

त्यसैगरी नवनित दलिवालले ३८, आरोजन जोनसनले ३६ तथा निखिल दत्तले १४ रन बनाए । नेपालका लागि साहब आलमले चार विकेट लिए भने शेर मल्ल र बसिर अहमदले समान एक–एक विकेट लिए ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४७ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनाएको थियो । नेपालका लागि आशुतोष घिरैयाले सर्वाधिक २८ रनको योगदान दिए । त्यसैगरी अर्जुन कुमालले २७ बनाउँदा बसिर अहमदले २५ तथा कप्तान सन्दीप जोराले २४ रन बनाए । सुजन थपलियाले २० तथा रासिद खान र प्रतिश जिसीले १९ रन बनाए ।

क्यानडाका लागि डिलोन हेलिगर, निकोलस कीर्तन र हर्ष ठेकरले समान दुई–दुई विकेट लिए भने कप्तान सादबिन जफर र कलिम सानाले समान एक–एक विकेट लिए ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update