Kath khabar
अभिभावक गुमाएकी खेलाडी रियाको उच्च शिक्षा प्राप्तिको चाहना अधुरै

महेन्द्रनगर (कञ्चनपुर), फागुन १२  । कराते खेलाडी रिया पुजाराले प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको सात महिना भए पनि ‘प्लस टू’को प्रमाणपत्र भने लिन सकेकी थिइनन् । उनका सहपाठी स्नातक तहमा भर्ना भइसकेका छन् तर उनी भने घरमै थन्किएकी छन् ।

    कञ्चनपुरको भीमदत्त नगरपालिका–१० गड्डाचौकीकी रियाले स्थानीय डायमण्ड पब्लिक ऐकेडेमीबाट ‘प्लस टू’ उत्तीर्ण गरेकी हुन् । उनी उक्त विद्यालयमा कक्षा ३ देखि पढ्न थालेकी हुन् । कक्षा ३ देखि हालसम्मको शुल्क तिर्न नसक्दा रियाले स्नातक तह पढ्न नपाएकी हुन् । यसबीचमा शैक्षिक प्रमाणपत्रका लागि उनी पटक–पटक विद्यालय धाइन् तर धेरै शुल्क रकम तिर्न बाँकी रहेकाले विद्यालयले शैक्षिक कागजात दिन मानेन ।

    केही दिनअघि करातेका पूर्वप्रशिक्षक मकेन्द्रबहादुर सिंहले रियाको हालसम्मको शुल्क तिरिदिएपछि प्रमाणपत्र उनको हातमा परेको छ तर  स्नातक तह पढ्न बाटो खुले पनि उनको कमजोर आर्थिक अवस्थाका कारण हालसम्म क्याम्पस भर्ना हुन सकेकी छैनन् । उच्च शिक्षा हासिल गर्न उनी आर्थिक जोहो कसरी गर्ने भन्ने चिन्तामा छन् ।

    “कक्षा ३ देखि ‘प्लस टू’सम्मको रु तीन लाख ६१ हजार शुल्क तिर्न बाँकी थियो”, रियाले रासससँग भनिन्, “आर्थिक अवस्था कमजोर हुँदा शुल्क तिर्न सकेकी थिइनँ ।” पूर्वप्रशिक्षक सिंहले विद्यालयको रु दुई लाख ५० हजार शुल्क तिरेपछि रियाले सात महिनापछि विद्यालयबाट एसइई र ‘प्लस टू’ को प्रमाणपत्र पाएकी छिन् । अब उनी स्नातक तह पढ्नेबारे योजना बुन्दैछिन् ।

    पछिल्लो समय अमेरिकामै बस्दै आएका पूर्वप्रशिक्षक सिंह यही फागुन पहिलो साता महेन्द्रनगरमा आयोजना गरिएको सुदूरपश्चिम प्रदेशस्तरीय सितोरियो करातेको दीक्षान्त समारोहमा भाग लिन आएका थिए । त्यही क्रममा रियाको सिंहसित भेट भयो । उनको आर्थिक अवस्थाका बारेमा कराते प्रशिक्षक बिमल खडायत, मदन नाथ र दीपक चन्दले कराते महासङ्घका केन्द्रीय उपाध्यक्षसमेत रहेका सिंहलाई अवगत गराए ।

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update