Kath khabar
घोराही रङ्गशालामा सोमबारदेखि ‘दाङ क्रिकेट लिग–२’

 

                       घोराही, फागुन १५ । दाङमा ‘नेपाल टेलिकम दाङ क्रिकेट लिग-२’ सोमबारदेखि सुरु भएको छ । दाङ क्रिकेट सङ्घको आयोजनामा घोराही-१७ गुलरियास्थित घोराही क्रिकेट रङ्गशालामा उक्त प्रतियोगिताको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनाल र घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।

स्वास्थ्यमन्त्री खनालले दाङमा क्रिकेट क्षेत्रको व्यावसायिक विकासको प्रयास सराहनीय रहेको बताउनुभयो । पछिल्लो समय नेपालमा क्रिकेटले फड्को मारेकाले स्थानीयस्तरबाटै यसको विकासका लागि सबै लाग्नुपर्ने उहाँको भनाइ थियो । “क्रिकेटप्रति युवाको आकर्षण बढ्दो छ, खेलको विकासका लागि पूर्वाधारमा जोड दिनुपर्छ,” उहाँले भन्नुभयो ।

घोराही उपमहानगरपालिकाका नगरप्रमुख चौधरीले खेलकुद क्षेत्रको विकासका लागि घोराही उपमहानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले घोराहीमा खेल पूर्वाधारका क्षेत्रमा लगानी भइरहेको बताउनुभयो ।  

दाङ क्रिकेट सङ्घका अध्यक्ष प्रदीप मजगैयाले यहाँको क्रिकेट विकास गर्ने यो राम्रो अवसर भएको बताउनुभयो । दाङको क्रिकेट विकासका लागि सबैको साथ र सहयोग आवश्यक भएको उहाँले उल्लेख गर्नुभयो ।

‘नेपाल टेलिकम दाङ क्रिकेट लिग-२’ मा घोराही टाइगर्स, देउखुरी वारियर्स, पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स र दङ्गाली लायन्स फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ। प्रत्येक टोलीमा पाँच जनासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसहित दाङ जिल्लाभित्रका यु-१६ का दुई, यु-१९ का दुई र सिनियरतर्फ पाँच खेलाडी टोलीमा सहभागी गराएका छन् । प्रतियोगिता यही फागुन १९ गतेसम्म चल्नेछ ।
 

 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update