Kath khabar

ललितपुर, फागुन १५ ।: युवा उद्यमशीलता विकास र नवप्रवर्तन व्यवसायको प्रवद्र्धनका लागि राज्यले स्पष्ट र प्रोत्साहनमुखी नीति लिनुपर्ने आवश्यकता सरोकारवालाहरूले औंल्याएका छन् । 

    नेपाली युवा उद्यमी फोरम र साउथ एसिया लिडरसिप इन इन्टरप्रेनर्सिपको सहकार्यमा आज यहाँ आयोजना भएको राष्ट्रिय नीति संवाद कार्यक्रमका वक्ताहरुले नवप्रवर्तन र उद्यमशीलता विकासका लागि ‘स्टार्टअप इकोसिस्टम’ विकास गरिनुपर्ने, भेञ्चर क्यापिटल र प्राइभेट इक्विटी फन्डलाई स्टार्टअप व्यवसायमा लगानी गर्न प्रोत्साहन गर्ने, नवप्रवर्तन र उद्यमशीलता विकासमा विदेशी लगानी प्रोत्साहन गर्नेलगायतका आवश्यकता औंल्याउनुभएको हो ।
 
नीति संवाद कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एकनारायण अर्यालले सरकारले नवप्रवर्तन र युवा उद्यमशीलताका विकासको नीति लिएको भए पनि त्यसमा केही कानुनी र व्यवहारिक अस्पष्टता रहेको बताउनुभयो । “नवप्रवर्तन र उद्यमशीलता विकासका लागि सरकारले अहिले वातावरण मात्रै बनाउन खोजिरहेको छ । तर यसलाई कहाँ र कसरी लैजाने भनेर सरकारलाई पनि थाहा छैन”, सचिव अर्यालले भन्नुभयो, “सोह्रौं आवधिक योजना, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, वार्षिक बजेटमा यो विषय महत्वका साथ राखिनेछ । औद्योगिक व्यवसाय ऐनलाई संशोधन गरेर उद्यमशीलता तथा नवप्रवर्तन व्यवसायलाई पनि समेट्नुपर्ने सुझाव आएको छ ।”

उद्यमशीलता के हो र यसलाई मुलुकको अर्थतन्त्रलाई कसरी योगदान गर्छ भनेर तीनवटै तहका सरकारले बुझ्न र त्यस्ता व्यवसायलाई प्रोत्साहन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । नेपालले पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा निकै राम्रो प्रगति गरिरहेको उल्लेख गर्नुहुँदै सचिव अर्यालले नेपालभित्रै सम्भावना खोज्न पनि युवाहरुलाई आग्रह गर्नुभयो । युवा उद्यमशीलता तथा नवप्रवर्तन विकासका लागि नीतिगत हस्तक्षेप गर्नुपर्ने तथा यस क्षेत्रमा देखिएका समस्यालाई कानुनको दायरामा ल्याउन आवश्यक रहेको धारणा पनि सचिव अर्यालले राख्नुभयो । 

त्यस्तै, प्राविधिक शिक्षा जोड दिएर सीप तथा दक्षतायुक्त जनशक्ति निर्माण गर्नुपर्ने र आन्तरिक उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्ने पनि उहाँको भनाइ छ । नेपाली युवा उद्यमी फोरमका वरिष्ठ उपाध्यक्ष कुशल सुन्दर श्रेष्ठले नेपालमा उद्यमशीलता विकासका लागि नीति निर्माणमा पर्याप्त बहस पैरवी हुन नसकेको बताउनुभयो । 

ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गरेर युवाहरु विदेशिनेक्रम रोक्नका लागि उद्यमशीलतामैत्री कानुनी र व्यवहारगत संरचना तयार पारिनुपर्ने उहाँको भनाइ छ । नेपालभित्रै दक्षजनशक्ति तयार पारी उनीहरुलाई उत्पादनका क्षेत्रमा जोड्न सके त्यसलाई मुलुकको अर्थतन्त्रलाई पनि ठूलो योगदान पुर्‍याउने श्रेष्ठ बताउनुहुन्छ ।

उद्यमीहरुले सरकारबाट के चाहन्छन् भन्ने कुरालाई गम्भीर रुपमा लिन सके उद्यमशीलता विकास गर्न सकिने धारणा उद्यमी आभूषण ज्योति कंसाकारले राख्नुभयो । “हामीलाई के चाहिएको छ भन्नेकुरा नीति निर्माताको कानसम्म पुग्न सकेको छैन । युवा उद्यमीका समस्या नीति निर्मातासँग पुग्न सकोस् भन्ने उद्देश्यले यो नीति संवाद कार्यक्रम आयोजना गरिएको हो”, उहाँले भन्नुभयो । 

स्टार्टअप इकोसिस्टम’ निर्माण, भेञ्चर क्यापिटल र प्राइभेट इक्विटी फन्डलाई स्टार्टअप व्यवसायमा लगानी गर्न प्रोत्साहन, नवप्रवर्तन र उद्यमशीलता विकासमा विदेशी लगानी प्रोत्साहनलगायतका काममा सरकारले सहयोग र सहजीकरण गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update