Kath khabar
सावित्रा भण्डारीले वाफ च्यामिपयनसिपको फाइनल खेल खेल्न नपाउने
तस्विर: एन्फा

 

                      काठमाडौं, फागुन १६ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) ले साउदी अरेबियामा हुने वेष्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिको फाइनल खेल गुमाउने भएकी छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा आज जारी विज्ञप्तिमा साम्बाले जोर्डन विरुद्धको फाइनल खेल नखेल्ने जनाइएको हो । गएराति सम्पन्न सेमिफाइनल खेलमा नेपालले लेवनानलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो ।

साम्बा फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्धित छिन् । उक्त क्लबसँगको सम्झौताअनुसार साम्बालाई फिफा विन्डोको खेल खेल्न मात्र अनुमति रहेको छ । जसअनुसार साम्बाले फाइनल खेल खेल्न नपाउने भएकी हुन् ।

यसअघि समूह चरण र सेमिफाइलका खेल भने फिफा विन्डोमा भएका कारण उनले खेलेकी हुन् । फाइनल भने फिफा विन्डो बाहिरको खेल हो । वाफ च्याम्पियनसिपमा साम्बाले खेलेका सबै ४ खेलमा नै गोल गरेकी थिइन् ।

उक्त चार खेलमा उनको गोल सङ्ख्या नौ रहेको छ । साम्बा फ्रेन्च लिग खेल्ने साउदी अरेबियाबाट फ्रान्स जाने एन्फाले जनाएको छ ।  उक्त प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ ।
 

 

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update