Kath khabar
नामिबियालाई जितका लागि नेपालको एक सय ८१ रनको चुनौती



                        काठमाडौं, फागुन १८ । त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत आजको खेलमा कुशल मल्लको अर्धशतकमा नेपालले नामिबियालाई जितका लागि एक सय ८१ रनको चुनौती दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउदै एक सय ८० रनको योगफल बनायो ।     

नेपालका लागि कुशल मल्लले ३७ बल खेल्दै एक चौका  र चार छक्काको मद्दतमा ५५ रन बनाए । कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरे । आरिफले आउट हुनुअघि २४ बलमा चार चौकाको सहायताले ३१ रन जोडे ।   

त्यस्तै गुलशन झाले १६ बल खेल्दै एक चौका र तीन छक्काको सहायताले २६ रन बनाए भने अनिल शाहले १७ बलमा तीन छक्काको मद्दतमा २३ रन जोडे । दीपेन्द्रसिंह ऐरी आठ बलमा दुई चौका प्रहार गर्दै १६ रनमा आउट भए ।

कप्तान रोहितकुमार पौडेल नौ बलमा दुई चौका प्रहार गर्दै १० रनमा आउट भए । त्यस्तै सुरुआती ब्याट्सम्यान आसिफ शेख एक रनमा आउट हुँदा करण केसीले सात तथा सोमपाल कामी दुई रनमात्रै बनाए ।

बलिङतर्फ नामिबियाका बेन शिकाङगोलले तीन विकेट लिए भने ज्याक ब्रेसलले दुई विकेट झारे । त्यसैगरी बर्नार्ड स्कोल्ज र जान निकोल लोफटी इटनले समान एक/एक विकेट लिए ।

फाइनलमा पुग्नका लागि पनि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । नेपालले नामिबियालाई पराजित गरेमा मात्र नेपालको फाइनल पुग्ने सम्भावना कायमै रहन्छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update