Kath khabar
निर्यात सात दशमलव एक प्रतिशतले घट्यो


                       काठमाडौं, फागुन २७ । मुलुकको कुल निर्यात व्यापार घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी चालु आर्थिक वर्षको पछिल्लो सात महिनाको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ को सात महिनामा कुल वस्तु निर्यात सात दशमलव एक प्रतिशतले कमी आई ८६ अर्ब ८३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २९ प्रतिशतले कमी आएको थियो ।

गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ११ दशमलव तीन प्रतिशत र दुई प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात तीन सय ३८ दशमलव आठ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, अदुवा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, अलैंची, चिया, ऊनी गलैँचा लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०८०/८१ को सात महिनामा कुल वस्तु आयात दुई दशमलव तीन प्रतिशतले कमी आई आठ खर्ब ९७ अर्ब ९४ करोड रुपैंयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १९ दशमलव नौं प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः दुई दशमलव आठ प्रतिशत र २३ दशमलव आठ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३८ दशमलव चार प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा तयारी पोशाक, सवारी साधन तथा स्पेयर पार्टपुर्जा, हवाइजहाज स्पेयर पार्टपुर्जा, विद्युतीय उपकरण, एम.एस. तार, छड, बार तथा क्वायल लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाबिन तेल, सुन, धान तथा चामल, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा, तथा तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ ।

आयाततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । आर्थिक वर्ष २०८०/८१ को सात महिनामा कुल वस्तु व्यापार घाटा एक दशमलव आठ प्रतिशतले कमी आई आठ खर्ब ११ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १८ दशमलव सात प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा निर्यात– आयात अनुपात नौं दशमलव सात प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० दशमलव दुई प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी ८८ अर्ब १८ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७१ अर्ब ७८ करोड बराबरको भएको थियो ।

बृहत् आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५६ दशमलव चार प्रतिशत र ४३ दशमलव चार प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् शून्य दशमलव दुई प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५३ दशमलव नौं प्रतिशत, शुन्य दशमलव ५३ प्रतिशत र ४५ दशमलव पाँच प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ४९ दशमलव दुई प्रतिशत, पुँजीगत वस्तुको आठ दशमलव नौं प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४१ दशमलव आठ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरू क्रमशः ५३ दशमलव एक प्रतिशत, आठ दशमलव छ प्रतिशत र ३८ दशमलव तीन प्रतिशत रहेका थिए ।
 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update