Kath khabar
धोनीद्वारा चेन्नाई फ्रेन्चाइजीको कप्तानबाट राजीनामा


                  चेन्नाई, चैत ९ । पाँच पटकको इन्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन चेन्नाई सुपर किङ्ग्स (सिएसके) ले आइपिएल २०२४ को आगामी सिजनअघि बिहीबार स्टार ओपनर ऋतुराज गायकवाडलाई टिमको नयाँ कप्तान घोषणा गरेको छ । यो निर्णयले सिएसकेको नेतृत्वमा रहेको एमएस धोनीको लामो शासनको अन्त्यको सङ्केत गर्दछ । आफ्नो नेतृत्वमा धोनीले पाँच वटा आइपिएल दिलाउनुभएको छ ।

“एमएस धोनीले आइपिएल २०२४ सुरु हुनुअघि सिएसकेको कप्तानी ब्याट्सम्यान ऋतुराज गायकवाडलाई हस्तान्तरण गर्नुभयो, ऋतुराज सन् २०१९ देखि सिएसकेका अभिन्न अङ्ग हुनुहुन्छ र उहाँले यस अवधिमा आइपिएलमा ५२ खेल खेल्नुभएको छ”, सिएसकेले बिहीबार आधिकारिक विज्ञप्तिमार्फत भनेको छ ।

धोनीले २१२ आइपिएल खेलमा सिएसकेको नेतृत्व गर्नुभयो । यसमा १२८ खेलमा जित र ८२ मा पराजित हुनुभयो । सन् २००७ को टि–२० विश्वकप, सन् २०११ को एकदिवसीय विश्वकप र सन् २०१३ मा च्याम्पियन्स ट्रफीमा टिमलाई उपाधि दिलाएपछि धोनीले सन् २०२० अगस्ट १५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गर्नुभयो ।

गत वर्ष धोनीको नेतृत्वमा अहमदाबादमा गुजरात टाइटन्सविरुद्ध चेन्नाई फ्रेन्चाइजीले कीर्तिमानी पाँचौँ आइपिएल उपाधि जितेको थियो । बयालिस वर्षीय धोनी भारतीय क्रिकेटका सबैभन्दा प्रशंसित अनुहारमध्ये एक हुनुहुन्छ र वर्तमान केही क्रिकेट स्टारका तुलनामा प्रशंसकहरूबाट आनन्द लिइरहनुभएको छ । सन् २००८ मा आइपिएलको उद्घाटन सत्रदेखि नै उहाँले चेन्नाईको कप्तानी गर्नुभएको छ ।

उहाँले सन् २०२२ सिजनको प्रारम्भमा स्टार अलराउन्डर रवीन्द्र जडेजालाई कप्तानी हस्तान्तरण गर्नुभएको थियो तर सिजनको मात्र आठ खेलपछि पुनः फ्रेन्चाइजीको नेतृत्व गर्नुभयो ।
 

 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update