Kath khabar
दाङमा भोलिदेखि मिडिया महोत्सव हुँदै


                      दाङ, वैशाख २ । दाङमा भोलिदेखि मिडिया महोत्सवको आयोजना हुँदैछ । पत्रकार महासङ्घ दाङको आयोजनामा घोराहीमा आयोजित यस महोत्सवमा पत्रकारिता, मिडिया र विविध सञ्चार सेवाका विषयमा बहस तथा छलफल हुने बताइएको छ ।

यस कार्यक्रममा मिडियासम्बन्धी सरोकारवाला व्यक्ति तथा निकायको सहभागिता रहने जनाइएको छ । मिडिया क्षेत्रका विज्ञ तथा वरिष्ठ पत्रकारहरू, मिडियाका अनुसन्धानदाता तथा जनप्रतिनिधिहरूको सो सम्मेलनमा सहभागिता रहने आयोजकले जनाएका छन् ।

दुई दिनसम्म सञ्चालन हुने यस महोत्सवको तयारी पूरा भएको पत्रकार महासङ्घ दाङका अध्यक्ष दुर्गालाल केसीले जानकारी दिनुभयो । यस महोत्सवको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गर्नुहुने कार्यक्रम रहेको छ ।

यस महोत्सवमा  सङ्घीयता, विकास र मिडिया, मिडियाको सामथ्र्य र भविष्य, नैतिकताको कसीमा मिडिया, मिडियामा समावेशी सवाल, हिजो  र आजका मिडियालगायतका विषयमा बहस तथा छलफल हुनेछ ।

कोरोना महामारीपछि उत्पन्न आर्थिक समस्या र यसबाट मिडियामा परेको प्रभाव एवं नेपालमा छापा तथा डिजिटल मिडियाको भविष्यका बारेमा पनि सम्बद्ध विज्ञहरूले आवश्यक छलफल गरी निष्कर्ष निकाल्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।

त्यसैगरी यसै महोत्सवकै अवसर पारेर नेपाल सरकार, सूचना तथा प्रसारण विभागले दिने सबै सेवाहरूका साथै नेपाल टेलिकमले सिमकार्डलगायतका आफ्ना सेवा प्रदान गर्ने कार्यक्रम रहेको पनि आयोजकले जनाएका छन् ।

दाङ जिल्लामा पहिलोपटक हुन लागेको यस मिडिया महोत्सवलाई अवसरका रूपमा लिन र यसबाट आफ्ना क्षेत्र र विषयमा लाभ लिन नेपाल पत्रकार महासङ्घ दाङले सम्पूर्ण सरोकारवाला निकायलाई अनुरोध पनि गरेको छ ।
 

 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update