Kath khabar
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आज ‘ब्रेक थ्रु’ हुँदै

 

                    काठमाडौं, वैशाख ३ । काठमाडौंको नागढुंगादेखि धादिङको सिस्ने खोलासम्मको निर्माणाधीन सुरुङमार्गको मुख्य सुरुङ आज छेडिने (ब्रेक थ्रु) हुने भएको छ ।

आज सोमबार एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रु गर्न लागिएको नागढुङ्गा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले जानकारी दिनुभयो । सुरुङ ‘ब्रेक थ्रुकार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुहुने जनाइएको छ ।

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रु भइसकेको छ ।

ब्रेक थ्रु भएलगत्तै सुरुङ सञ्चालनमा भने आउने छैन । आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने जनाइएको छ । आयोजनाको सम्पूर्ण काम सकिएपछि मात्र सवारी साधनलाई गुड्न दिइने बताइएको छ । आगामी एक वर्षभित्र सबै काम सक्ने तयारी आयोजनाको छ ।

आयोजना निर्माणको सुरुआती सम्झौताअनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नुपथ्र्यो । आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ ।

त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन)लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ । (रासस)

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update